Breaking News
डोजर चलेको एक महिनासम्म नारायणगढ अस्तव्यस्त, व्यवसायी भन्छन्ः व्यापार धरासायी बन्यो

प्रतिमा कुमाल
चितवन, माघ १४–
नारायणगढको पुलचोकदेखि वीरेन्द्र क्याम्पससम्मका घरहरुमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको एक महिना बितिसकेको छ ।
सडक फराकिलो पार्न भत्काइएका संरचनाको अहिले मर्मत सम्भारकोे काम भइरहेको छ । जसका कारण चितवनकै मुख्य बजार क्षेत्र मानिने नारायणगढ बजार अस्तव्यस्तसँगै सुनसान देख्न सकिन्छ । चारैतिर भत्किएका भवन र कंक्रिट फोहोरका कारण व्यवसायीको आम्दानीमा गिरावट आएको रामप्रसाद शर्माले बताए ।
न्यू सिजनल होटल एण्ड लजका शर्माले भने, ‘घर बाहिरबाट नै हेर्दा ग्राहक भित्र पस्नै डराउने स्थिति छ । भत्केको घरसँगै धुवाधूलो र ध्वनी प्रदूषण उतिकै छ । भित्र बसेर आनन्दले खाने अवस्था छैन । व्यापारको सिजनमा एक्दमै मारमा परियो ।’
दोहोरो मारमा व्यवसायी परेको शर्माले सुनाए । ‘व्यापारत छँदै छैन भन्दा हुन्छ । एक्दमै घाटामा छौं । उता भत्किएको संरचना घरधनीले बनाउनुपर्नेमा हामी आफैले बनाउनु परेको छ । ‘व्यवसायी दोहोरो मारमा परेका छौं’, उनले सुनाए । वरिपरिका चिनेजानेका मानिस खाजा पानीका लागि आउने भएकाले मात्र लजको सटर खोलेको उनले बताए । शर्माले भत्किएको संरचना चाडो बने व्यापार व्यवसाय लयमा फर्किने विचार राखे ।
कपडा व्यवसायी रणदिपप्रसाद अग्रवालले व्यवसायी धरासायी बनेको बताए । ‘सडक विस्तारको लागि घर भत्काउन लागेको कुरा थाहा थियो तर व्यवसायलाई नै मार पर्ने गरी विकास निर्माणको काम हुन्छ भन्ने सोचेको थिइन । व्यापार शून्य हुन्छ भन्ने झनै लागेको थिएन । अहिले हेर्नुस् बजारमा एउटा ग्राहक छैन । सुनसान छ’, उनले गुनासो गरे ।
टाउन सेन्टरका व्यवसायी रामसिंह गुप्ताले व्यापार नहँदुा पसल बन्द गर्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘व्यापार नहुँदा सटर बन्द गरेर मान्छेहरु बसेका छन् । म सटर भाडाको केही रकम भए नी उठ्छ की भन्ने आशले खोलेर बसेको छु । दिनभरी कु¥यो १२, १ बजे बल्लबल्ल बोनी हुन्छ ।’ बजारमा घर भत्कँदा कतिपय सेवाग्राहीले आफूले खोजेको बैँक र पसल पनि पत्ता लगाउन नसक्ने अवस्था छ । पसल र बैँकका बोर्ड नभएकोले पनि सेवाग्राहीलाई समस्या परेको हो । नारायणगढको सिद्धार्थ बैँकमा पैसा निकाल्न पुगेकी बसेनीकी कल्पना दाहालले बैँकको बोर्ड नदेख्दा कता छ बैँक भनेर पत्ता लगाउन नै समस्या परेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ सबै घर भत्केकोले ठूलो बोर्ड नदेख्दा समस्या प¥यो । पछि सोधेर नै पत्ता लगाए । बैँकमा छिर्ने ठाउँमा सडक भत्केकोले बल्लबल्ल कसैलाई तान्न लगाएर माथि उक्लिएर बैँकमा पुगेँ ।’
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले डोजरका कारण करिब दुई अर्बको नोक्सानी भएको जानकारी दिए । उनले भने, ‘विकास निमार्णको कामले प्रत्यक्षरुपमा व्यवसायीनै मारमा परेका छन् । हाम्रो पारम्भिक अध्ययनका अनुसार व्यवसायी र घरधनीहरु गरी लगभग दुई अर्ब जतिको नोक्सानी भएको पाइएको छ ।’ सहमति अनुसार काम नहुँदा व्यवसाय र घरधनीलाई असर बढी परेको उनको दाबी छ ।
व्यवसायलाई पुरानै लयमा ल्याउन दुुर्तगतीमा काम गर्न सडक डिभिजन र निर्माण काम्पनीलाई आग्रह गरिरहेको श्रेष्ठले बताए । सडक डिभिजनले गत पुस ८ गते शुक्रबारदेखि १२ दिनसम्म यस बजार क्षेत्रका ५८ वटा घर टहराको अगाडिको संरचना भत्काएको थियो ।

























