चितवन विशेष

चितवनका कुमाल समुदायले मनाए माघे संक्रान्ति पर्व

Banner

चितवन, माघ २–

चितवनका कुमाल समुदायले जमघट गरी माघे संक्रान्ति पर्व मनाएका छन् ।

कुमाल समुदायको विशेष पर्व पितृ तथा चेलीबेटी पूजा गर्दै माघे संक्रान्ति सामूहिक रुपमा भेटघाट गरी मनाइएको हो ।

नेपाल राष्ट्रिय कुमाल समाज सुधार समिति चितवनको आयोजनामा कुमाल पूजा स्थल भरतपुर –११ मा कार्यक्रम आयोजना गरिएको थियो । यस दिन पितृलाई पानी तथा फलफूल चडाइएको नेपाल राष्ट्रिय कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले बताए । उनले भने, ‘अरुले सोह् श्राद्ध गरे जस्तै कुमाल समुदायले माघे संक्रान्तिको दिन पितृको श्राद्ध गर्छन् । बिहान स्नान गरी पितृहरुको नाममा पानी, फलफूल र शुद्ध परिकार चडाइन्छ ।’

यस दिन बिहे गरेर गएका चेलिबेटीलाई बोलाउने चलनसमेत रहेको कुमालले बताए । उनले भने, ‘परापूर्व कालदेखि हामीले मान्दै आएको यो पर्व कुमाल समुदायकै सबै भन्दा ठूलो चाड हो । यस दिन चेलीहरुलाई बोलाउने, घोङ्गी, माछा, मासको बटु, अचार, कालो सुँगुर, तरुल, सखरखण्ड, गंगटा, चिँचर, खिचडीलगायतका परिकार खाने खुवाने र मौलिक गीतमा नाच्ने नचाउने गरिन्छ ।’ कुमाल समुदायलाई एकजुट बनाउनका लागि पर्न उनले आग्रह समेत गरेका छन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष कमलबहादुर मल्लले कुमाल संस्कार संस्कृति जोगाइराख्न वडा सधै अगाडि रहने बताए । संरक्षणको अभावका कारण अहिले हरेक समुदायको मौलिक चाडपर्व भेसभूषा हराउँदै गएको छ । यसलाई जोगाइ राख्ने जिम्मा जनप्रतिनिधिको पनि हो । यसमा मेरो र स्थानीय सरकारको तर्फबाट सधै साथ र सहयोग रहन्छ’, उनले भने ।

नेपाल राष्ट्रिय कुमाल समाज सुधार समितिका उपाध्यक्ष रामसिंह कुमाले संक्रान्तिलाई पितृ सम्झिने दिनको रुपमा मानिरहँदा दास प्रथा अन्त्य भएको दिनको रुपमा पनि मनाउनु पर्ने बताए । उनले भने, ‘कुमाल समुदायको मुख्य पेसा माटोको भाडा बनाउने हो । अहिले धेरैले यो पेसा छोडिसके । मेरो बाले पनि गर्नुभएन, मैले पनि गरिन । यसको अर्थ मैले आफ्नो इतिहास भुलेर माटोको भाडा हाम्रो पेसा होइन भन्न मिल्दैन । त्यसैगरी धेरै कुमालहरु जिम्दार कहाँ हली बस्थे । माघे संक्रान्तिकै दिन उनीहरु बस्ने र फुकुवा हुन्थे । यसलाई नकार्न मिल्दैन ।’
उपाध्यक्ष कुमालले यस विषयमा आफ्नो पुस्तक कुमाल जातिको पहिचान, संस्कार र संस्कृतिमा पनि उल्लेख गरेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्रिय कुमाल समाज सुधार समिति चितवनका बरिष्ठ सल्लाहकार वीरबहादुर कुमाल, कुमाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेन्द्र कुमाल, कुमाल युवा संघका अध्यक्ष श्यामकृष्ण कुमाललगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>