राजनीति
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा, पुस २९-
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्यो ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन् । तर, माओवादी संसदीय दलका नेता तथा खगराजको पहिलो मन्त्रिपरिषदका सदस्य हरिबहादुर चुमानले गण्डकीमा पनि आलो पालो नै हुने दाबी गरिरहेका छन् ।
























