Breaking News

नीतिगत समस्याले भरतपुर अस्पतालमा ४७२ प्रकारका औषधिको अभाव

Banner

प्रतिमा कुमाल

चितवन, पुस २५–

चितवनको सबै भन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा औषधिको अभाव भएको छ ।

बिरामीहरुको चाप रहेको यस अस्पतालमा बोलपत्र गरेको औषधि आइनपुग्दा औषधिको अभाव भएको हो ।

बोलपत्र गरेको औषधि मध्ये ४७२ औषधि पूर्ति हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘अस्पतालले चालु आर्थिक वर्ष २०७९\२०८० को लागि एक हजार २६२ औषधिको टेन्डर आव्हान गरेको थियो । ४७२ औषधि अझै उपलब्ध भएको छैन ।’

औषधिको ठेक्का लिएका बितरक कम्पनीका कारण भरतपुर अस्पतालले औषधिको अभाव भोगिरहेको सुपरिटेण्डेन्ट पौडेलको भनाइ छ । ‘छिटो बिक्री हुने औषधिमा मुनाफा हुन्छ । त्यस्ता औषधि सप्लायर्सले छिटो पु¥याउँछन् । कम प्रयोग हुनेमा नाफा नपर्ने हुँदा यस्ता औषधिमा ढिला सुस्ती हुने गरेको छ । छिटो उपलब्ध गराउ भन्दा विभिन्न समस्या देखाउछन् । टेन्डर वालाले हैरान पारेको छ,’ उनले भने ।
सरकारले कोटेसनमा औषधि किन्ने अधिकार अस्पतालका कार्यकारीलाई दिए समस्या सामाधान हुने उनको भनाइ छ । उनले भने, ‘अहिले सार्वजनिक खरिद नियामावलीबाट औषधिको खरिद हुन्छ । यसको लागि टेन्डर आव्हान बाहेक कुनै अरु उपाय हुदैन । टेन्डर पाएकाले सप्लाई गरे औषधि उपलब्ध हुन्छ नत्र हुदैन । यो समस्यालाई हल गर्न खरिद नियममा केही परिवर्तनको आवश्यकता छ । साथै कार्यकारीलाई औषधि कोटेसनमा किन्ने अधिकार दिए पनि समयमै औषधि उपलब्ध गराउन सकिन्छ ।’

अस्पतालले बोलपत्रमा स्वीकृत भएका औषधिहरु सप्लाई नगर्ने सप्लायरलाई कारबाही समेत गरेको उनले बताए । बितरक कम्पनीलाई जिम्मेवार बनाउन अस्पतालले कारबाही गर्न सुरु गरेको पौडेलको भनाइ थियो । अहिलेसम्म अस्पतालले ९ वटा बितरकलाई कारबाही गरेको छ । जसमा हिमसागर मेडिकल हल कास्की पोखरा, युनिक सर्जिकेम ट्रेडिङ, महेश मेडिसिन डिस्ट्रिब्युटर्स भरतपुर चितवन, मेडिसेल्स फर्मा भरतपुर चितवन, पायोनर मेडिसिन भरतपुर चितवन, डिजिटल फार्मेसी भरतपुर चितवन, पर्ल मेडिटेक भरतपुर चितवन, मही फर्मास्युटिकल भरतपुर चितवन, हिमालयन फर्मास्युटिकल भरतपुर चितवन रहेका छन् ।

कारबाहीमा परेका यी बितरकलाई बैँक जमानत र बिल भुक्तानीको माध्यमबाट हर्जाना तिराएको अस्पतालका आर्र्थिक प्रशासन शाखाका सह–लेखापाल हरि लामिछानेले जानकारी दिए । उनले भने, ‘ सप्लायर्सले किन औषधि सप्लाई गर्न सकेन भनेर तीन पटकसम्म अस्पतालबाट पत्रचार गर्छौ । त्यसपछि पूनः सप्लाई हुन नसकेको औषधिको टेन्डर आव्हान हुन्छ । जसले ठेक्का स्वीकृत गर्छ उसले कतिमा सो औषधि उपलब्ध गराउने बुझिन्छ । पहिलाको सप्लायर्सले भन्दा केही महंगोमा दोस्रोले उपलब्ध गराउछ भने जति रकम बढी हुन्छ त्यो रकम पहिलाको बितरकले तिर्नुपर्छ ।’

बितरकले ठेक्का हत्याउन बढी कसरत गरेकाले त्यसको असर बिरामीलाई परेको अस्पताल फार्मेसीका प्रमुख भोला अधिकारीले बताए । उनले भने, ‘टेन्डर मात्र हात पार्नु बितरकहरुको मुख्य उद्देश्य बनेको छ । जसले गर्दा उनीहरुले समयमा औषधि उपलब्ध गराउन सक्दैनन् । जसको प्रभाव बिरामीलाई परेको छ ।’

अस्पतालमा उपलब्ध नभएको औषधि मध्य केही अति आवश्यक रहेको अधिकारीले जानकारी दिए । यी औषधिको पूनः बोलपत्र आव्हान गरिएको छ । भरतपुर अस्पतालले चितवन र यस वरपरका ८ जिल्लाका ३५ लाख नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । १०२ वटा औषधि निःशुल्क बितरण समेत अस्पतालले गर्दछ । यस अस्पतालमा चितवनको मात्र नभई नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, बारा, तनहुँ, लमजुङ, रुपन्देहीलगायतका बिरामीहरु उपचारको लागि आउने गर्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>