Breaking News

गैँडाकोटको मेयरलाई खुलापत्रः तपाइँलाई एक करोडको नयाँ गाडी किन चाहियो ?

Banner

आदरणीय नगर प्रमुख,
गैंडाकोट नगरपालिका नवलपुर ।

मेयर ज्यूलाई नमस्कार । सन्चै हुनुहुन्छ होला । जाडोको मौसम छ स्वास्थ्यको ख्याल गर्नुहोला । हजुर नगर प्रमुख निर्वाचित भएको पनि आठ महिना बित्नै लाग्यो । आफ्नो घोषणापत्र अनुसार नगरको विकास निर्माणमा अघि बढिरहनु भएकै होला । नगरपालिका को भूगोल र समस्याका बारेमा परिचित हजुरलाई सिकाउनुपर्ने खासेै केही छ जस्तो लाग्दैन । यसो त हजुर जनप्रतिनिधिका रुपमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । त्यसैले पनि कामको अनुभव राम्रै छ भन्ने लाग्छ । जनप्रतिनिधिका रूपमा काम गर्दा पञ्चायतका पालामा बजेट र प्रविधिको अभाव थियो भने अहिले एक्काईसौं शताब्दीको प्रविधि र आवश्यकताभन्दा बढी बजेट पाउनुभएको छ । त्यसैले काम गर्न सहजै होला भन्ने अनुमान छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख र आठ वटा वडामा मात्र चुनाव जितेको थियो । बहुमतका नाममा आपसी झगडा र उपमेयरको तालाबन्दीले कार्यकालको झण्डै तीन वर्ष सकियो । जनताको अपेक्षा अनुसार काम हुन सकेन । तर यसपटक प्रमुख, उपप्रमुख सहित १२ वटा वडामा नेपाली कांग्रेससहितको गठबन्धन को बहुमत भएको हुनाले मेयर साबलाई निर्णय गर्न र गरेको निर्णय कार्यान्वयन गर्न सजिलै छ भन्ने लाग्दछ ।

मेयर साब !
जीवनको उत्तरार्धमा नगरपालिकाको नगर प्रमुख भएर जनताको सेवा गर्न पाउनु हजुरको लागि एउटा महत्वपूर्ण र सुवर्ण अवसर हो भन्ने लाग्छ । नयाँ काम गरेर नगरबासीको मन जित्ने अवसर पनि छ, जुन बिरलै मान्छे हरुले मात्र प्राप्त गर्छन् ।
अब म मेयर साबलाई यो चिट्ठी लेख्नाको कारण राख्न चाहन्छु ।

गैंडाकोट नगरपालिका घोषणा भइसकेपछि २०७४ सालमा हुनुपर्छ स्थानीय विकास मन्त्रालयले नगरपालिकाकै बजेटबाट करिब ४१ लाख पर्ने टाटासुमो गाडी खरिद गरी नगरपालिका मा पठायो । त्यो गाडी कहिले मेयर ,कहिले उपमेयर र कहिले कार्यकारीका बीचमा उछिना पाछिन चल्यो । जसको परिणाम नगरपालिकाले झण्डै ५८ लाख पर्ने महेन्द्रको कम्पनीको स्कर्पियो जिप खरिद ग¥यो । पछि खरिद गरिएको स्कर्पियो नगरप्रमुख चढे भने टाटासुमो उपप्रमुख । जबकि उपप्रमुखलाई चालक सहितको गाडी दिने व्यवस्था कुनै नियम र कानुनमा नै थिएन । दुईटा गाडीमा नगरपालिकाले झण्डै एक करोड खर्च ग¥यो । यो सबै रकम गैँडाकोटको विकास निर्माण गर्ने बजेटबाट खर्च भएको कुरा मेयर साबलाई जानकारी नै होला । ती दुवै गाडी अहिले पनि चालु अवस्थामा नै भएको बुझिन्छ । २\२ वटा गाडी चालु अवस्थामा हुँदा हुँदै सुनिँदै छ नगरपालिका फेरि अर्को गाडी खरिद गर्दै छ । गाडि खरिद गर्ने योजनासहित नगरपालिका सोरुम हरुमा गाडी निरीक्षण गरिरहेको छ । स्कर्पियो र टाटा सुमो भन्दा आरामदायी एक करोड वरिपरि मूल्य पर्ने अर्को गाडी किन्ने नगरपालिकाको योजना छ ।

मेयर साब ! आफूभन्दा अगाडीका एमालेका मेयरले चढेको गाडी मैले किन चढ्ने ? भन्ने तपाइको तर्क हो भने ख्याल गर्नुहोला तपाईं पछि निर्वाचित हुने अर्को मेयरले तपाइँले चढेको गाडी चढ्ने छैन । यसरी हरेक पाँच वर्षमा नगरप्रमुख फेरिदा गाडी पनि फेरिने छ । यसरी गाडी थप्दा गाडी मात्रै थपिँदैन गाडी चलाउने चालकको तलब भत्ता, इन्धन र मर्मत सम्भार को खर्च समेत थपिन्छ । यस्तो गतिबिधिले जनतालाई सुशासन, सहुलियत र विकास निर्माण मार्फत समृद्ध गैंडाकोट बनाउने हाम्रो सपना कहिले पूरा हुन्छ ? निर्वाचित पदाधिकारीको गाडी मोहका कारण जनताबाट उठाइएको कर रकमलाई बिलासिता र ऐसका लागि प्रयोग गर्न जनप्रतिनिधि चुनेको होइन । त्यसैले नगरप्रमुख ज्यू तपाइँले यो निर्णय लिइ सक्नु भएको छ भने एउटा सचेत राजनीतिक परिवारको सदस्य हुनुको नाताले तुरुन्त सच्याउनु हुन मतदाताको तर्फबाट तपाईलाई हार्दिक अनुरोध गर्दछु ।

अन्यथा तपाईँको यो काम को जनताले बिरोध गरिरहने छन् । करको दुरुपयोग गरी कमिसनको खेलमा थप सवारी साधन किन्ने निर्णयको बिरोध गर्न मेयर साबलाई लेखेको यो पत्र मार्फत म सम्पूर्ण नगरबासी हरुलाई हार्दिक अनुरोध गर्दछु । जनताबाट उठाइएको कर जनताकै समृद्धिको लागि खर्च गर्न दबाब सृजना गरौ ।
हामीले नगरे कसले गर्ने ? अब पनि नगरे कहिले गर्ने?

समृद्ध गैंडाकोट’ हाम्रो अभियान ।
गिरिराज उपाध्याय
गैंडाकोट –१
२०७९–०९–२५

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>