Breaking News

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमालेका हिक्मत कार्की, को हुन् कार्की ?

Banner

विराटनगर, पुुस २४-

नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै मुख्यमन्त्री बन्न कार्कीलाई बाटो खुलेको हो ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । एमाले स्थायी कमिटी सदस्यसमेत उनी शेरधन राई नेतृत्वको सरकारमा मन्त्री थिए ।
९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदसहित सत्ता गठबन्धन दुई तिहाइ नजिक छ । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालका लागि भने उनकै नेतृत्वमा सरकार बन्ने भएको हो । कार्कीले सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका ६० जना सांसद (प्रदेशसभा सदस्य)को समर्थनमा आज मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गर्दै छन् ।

प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)सहितको सत्तारूढ गठबन्धन छ । ९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदसहित सत्ता गठबन्धन दुई तिहाइनिजक छ। प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् ।

कार्की एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ ।

एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश प्रमुखले दिएको समय अघि नै कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दिउँसो ४ बजे दाबी पेस गरिने छ । प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ । उनले एक साताको समय दिँदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गत पुस १७ गते आह्वान गरेका थिए । दलहरूले छलफल गरेपनि केन्द्रमा भागबण्डा टुंगो नलाग्दा दाबी पेस गर्न अन्तिम समयसम्म कुर्नु परेको थियो।

सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेताको हस्ताक्षर र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएपछि प्रदेश प्रमुखले कार्कीलाई प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गर्ने भण्डारीको भनाइ छ । शीर्ष नेताहरूबीचमा शनिबार भएको छलफलमा प्रदेश १ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति जुटेको थियो । तर, सभामुख कसलाई बनाउने भन्ने निर्णय माओवादीले लिइसकेको छैन । माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री एमालेले लिने सहमति शीर्ष तहमा भएको बताए ।

उनले शीर्ष सहमति अनुसार नै मुख्यमन्त्रीमा गठबन्धनले दाबी पेस गर्ने जानकारी दिए । मुख्यमन्त्री एमालेले लिएपछि सभामुख भने माओवादीले लिने आङ्बो बताउँछन् । यसअघि मुख्यमन्त्रीमा माओवादीले पनि दाबी गर्दै आएको थियो । प्रदेशको मुख्यमन्त्री टुंगो लागेपनि सरकार विस्तारका लागि सत्तारूढबाट मन्त्रीहरूको टुंगो लागिसकेको छैन । कुन मन्त्रालय कसले लिने भनेर दलहरूबीचमा सहमति पनि भइसकेको छैन ।

को हुन् हिक्मत ?

एमाले नेता हिक्मतकुमार कार्कीको जन्म झापाको गौरादह नगरपालिका–३ मा विक्रम संवत २०२१ साल असोज ११ गते भएको हो ।
उनी पिता स्वः बमहादुर कार्की र माता जानुकादेवी कार्कीका तेस्रो सन्तान हुन्। हिक्मतको परिवारमा अहिले आमा, दाजु–भाउजू, श्रीमती, २ छोरी र १ छोरा छन् । दाजु दीपक कार्की पनि एमालेकै राजनीति गर्छन् । संविधानसभा सदस्य दीपक एमाले झापाका अध्यक्ष हुन् ।
हिक्मतको बाल्यकाल गौरादहमै बितेको थियो । स्थानीय जनता माध्यमिक विद्यालयबाट उनले एसएलसी दिएका हुन्। स्कुले जीवनदेखि नै अनेरास्ववियुमा संगठित भएर उनी विद्यार्थी राजनीतिमा प्रवेश गरे । २०३६ सालदेखि पार्टीको सम्पर्कमा पुगेर राजनैतिक आन्दोलनलाई साथ दिए ।

हिक्मत विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने उदेश्य राखेर २०४२ सालमा धरान गए । धरानबाट आईएलको पहिलो ब्याजको अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी प्रदर्शनी मार्गस्थित नेपाल ल कलेजमा भर्ना भए।

हिक्मतले कानुनमा स्नातकोत्तर तह (एलएलएम)सम्मको अध्ययन पूरा गरेका छन् । अनेरास्ववियुको विभिन्न कमिटीमा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । उनले विद्यालय र क्याम्पसको प्रारम्भिक कमिटीदेखि ल क्याम्पस, जिल्ला कमिटी काठमाडौं र बाग्मती अञ्चल कमिटीको नेतृत्वमा रहेर विद्यार्थी राजनीति गरे। २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिसमेत भए । हिक्मत विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् ।

पार्टीको स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिकामा रही पर्यवेक्षक, प्रतिनिधि हुँदै पार्टीको केन्द्री राजनीतिमा उनी प्रवेश गरेका हुन् । एमालेको नवौं महाधिवेशनमा भूगोलको प्रतिनिधित्व गर्दै मेचीबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

पार्टीभित्र २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारीमा रहे । संविधान अनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका उनले कुशलतापूर्वक निर्वाह गर े।
२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा झापा ५ को ‘क’बाट प्रत्यक्ष निर्वाचित हिक्मत प्रदेश १ को स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्री बने । उनले २०७४ फागुन ३ गते उक्त मन्त्रालयको जिम्मेवारी पाएका थिए।

आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा करिव ३ वर्ष ७ महिना उनको कार्यकाल सफल मानिन्छ । तत्कालीन नेकपा विभाजन भएपछि उनी मन्त्रीबाट बाहिरिए । २०७८ साल भदौ १० गते सरकारबाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, २ दर्जनभन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए । उनी अहिले एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>