Breaking News

चितवनमा मिटरब्याजका २३ उजुरी, गृहमन्त्री लामिछानेले बुझे कानुनी मस्यौदाको प्रस्ताव

Banner

चितवन, पुस १९-

बैँकहरुले ऋण दिन छाडेसँगै चितवनमा मिटरब्याजीहरुको संख्या बढ्दै गएको छ ।

चितवनमा पुस १९ गतेसम्म मिटरब्याजीबाट ठगिएका २३ वटा उजुरी दर्ता भएका छन् । यसबारे जनगुनासो आउनेक्रम बढ्दै गएको छ ।

चितवनमा दर्ता भएका उजुरीहरुमध्ये जिल्ला प्रशासन कार्यालयले एउटा उजुरीको समाधान गरेको छ भने कारबाहीको क्रममा २ वटा उजुरी रहेका छन् । कानुनको स्पष्ट अभावमा मिटरब्याजीहरुलाई कारबाही गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले यस विषयमा पीडितलाई न्याय दिन कानुनको अभाव भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मिटरब्याजीलाई ठगी मुद्दाअन्तर्गत कारबाही गर्नुपर्ने हुन्छ । त्यसको लागि ठगी हो वा होइन भनेर प्रहरीले प्रमाणित गर्नुपर्छ । ’ प्रमुख जिल्ला अधिकारी तामाङले कतिपय उजुरीहरु कारबाहीको लागि प्रहरीमा पठाएको बताएका छन् । उनले कुनै व्यक्ति मिटरब्याजी हो वा होइन भन्ने छुट्याउन कन्फ्युज हुने भएकोले सबैभन्दा पहिले पीडक र पीडितलाई सहमतिमा ल्याउने प्रयास गरिने बताए । सहमतिमा नआएपछि थप अनुसन्धानका लागि प्रहरीमा पठाउने गरेको बताए । गृहमन्त्रालयको तथ्यांकमा चितवनसहित देशभरबाट तीन हजार एकवटा मिटरब्याजसम्बन्धी उजुरीहरु परेका छन् । मन्त्रालयको अनुसार मिटरब्याजीसम्बन्धी सबैभन्दा धेरै उजुरी सर्लालीमा ५६७, नवलपरासीमा ४५४ र जनकपुरमा २७५ वटा रहेका छन् ।

गृहमन्त्री लामिछानेले बुझे कानुनको मस्यौंदा

मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले मिटरब्याजी अपराधलाई प्रत्यक्ष कानुनी दायरामा ल्याउन कानुनको मस्यौदा प्रस्ताव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार बुझाएको छ ।

यसअघि भदौ २७ गते नै सो समितिले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गत साउन २७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित गत भदौमै प्रतिवेदन पेस गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>