Breaking News

विद्यार्थीलाई बाआमाको सेवा गर्न सिकाउँदै भरतपुरको नारायणी नमुना मावि

Banner

प्रतिमा कुमाल

चितवन, पुस १२

सामाजिक सञ्जाल र विकृत सोचका कारण हामीलाई आमाबुबा, बाजे, बजैसँग देखिन, चिनिन लाज लाग्ने परिस्थितिमा पु¥याएको छ । हजारौं दुःख र अनुभव दर्शाउने चाउरिएको अनुहार भएका आमाको चोली, बाबाको भोटोप्रति घृणा गर्नेको पनि समाजमा कमी छैन । जसका कारण आजभोलि हाम्रा अभिभावक घरमा भन्दा बढी बृद्धाश्रममा देखिन थालिसकेका छन् ।

सन्तानको अभिभावकप्रतिको दायित्व के त भन्नेमा समाज अनविज्ञ बन्दै गएको देखिन्छ । अभिभावकबाट आवश्यकता पूरा गरेर हुर्किएका सन्तानले अभिभावकको यही आधारभूत आवश्यकता पूरा गरिदिन चुकिरहेका छन् । यसै विषयलाई बोध गराउन भरतपुर–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले अभिभावक ‘स्याहार–सुसार’ कार्यक्रम गरेको छ ।

विद्यालयको हिरक महोत्सव समारोहमा विद्यार्थीलाई अभिभावक प्रतिको दायित्व बोध गराउन यस प्रकारको कार्यक्रम गरिएको हो ।
चितवनमै पहिलो पटक गरिएको अभिभावक स्याहारसुसार कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट खुसीको आँशु छल्किएको थियो । केही अभिभावक आफ्नो छोराछोरी, नाता नातिनीले गरेको बाचाले भक्कानिँदै आशु लुकाउन कुना काप्चा तिर लागिरहेका थिए । केही रुमाल र पछेउराको फेर समाती खुसीको आँशु पुछिरहेका थिए । यो सबै मंगलबार विद्यालयमा देखिएको दृश्य हो ।

आँशुले टिलपिल भएको आँखा पुच्छै अभिभावक प्रियंका शाहले भनिन्, ‘सधै यस्तै ब्यवहार छोराछोरीले गरुन भन्ने आश छ । घरमा मलाई सहयोग नगर्ने होइन गर्छन् । तर, उमेरसँगै व्यवहार छोराछोरीको बदलिँदो रहेछ । सानोमा अहो ममी म गर्छु, तपाइँ आराम गर्नुस् भन्ने बच्चा केही ठूलो भएपछि भनेको नटर्ने देखेको छु । आज स्कुलले सिकाए जस्तै सधै गरिदिए बुढेस कालमा आश्रम जान पर्दैन थियो होला हैं ।’ शाहले छोराछोरीले लुकाएर राखेको माया स्कुलको कार्यक्रमको मार्फत महसुस गर्न पाउँदा गौरवान्भित भएको अनुभव सुनाइन् । शाहकी छोरी ४ कक्षामा अध्यनरत थिइन् ।
शारीरिक हिसाबमा दृष्टिबिहीन डोलकुमारी न्यौपाने ढकालले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताइन् । सोही विद्यालयमा छोरालाई १२ कक्षा पढाइ राखेकी ढकालले विद्यालयबाटै पारिवारिक शिक्षा दिन सके खुसी परिवार निर्माण गर्न सकिने विचार राखिन् । सानै उमेरदेखि बच्चालाई काम गर्न, असल ज्ञान दिन एक्दमै जरुरी रहेको उनको भनाइ थियो ।

उनका छोरा सागर ढकालले अरुको लागि नौलो कुरा भए पनि आफ्नो लागि भने दैनिकी जस्तै लागेको बताए । मेरो ममीले सानैदेखि मलाई काम गर्न सिकाउनु भएको छ । ममीको स्याहारसुसार पनि गर्दै आएको छु । त्यसकारण मलाई नौलो लागेन तर कर्तव्यबोध भएको बताए ।
रुपक लामिछानेले यस्ता खालका अभियान र कार्यक्रमले मात्र अभिभावकलाई बृद्धाश्रम जानबाट नरोक्ने बताए । उनले भने, ‘अहिलेका छोराछोरी दायित्व भुलेर मात्र आमाबुबालाई आश्रम छाडेका छैनन् । हात मुख जोड्न विदेश जानुपर्ने बाध्यताले पनि राखेका छन् ।’

कार्यक्रमका संयोजक शिक्षक विशाल अधिकारीले छोराछोरीले बिर्सिएको नेपाली संस्कार संस्कृति र जिम्मेवारी बुझाउनको लागि अभिभावक स्याहारसुसार कार्यक्रम आयोजना गरिएको बताए । सानै उमेरमा आमा बुबा र हजुरबुबा गुमाएका अधिकारीले समय परिस्थिति अनुकुल कार्यक्रम ल्याएको जानकारी दिए । हजुरआमाले कष्ट गरेर शिक्षकसम्म बनाएको सम्झँदै उनले मेरो जस्तो हजुरआमा, बुबा बृद्धाश्रममा देख्दा असैह्य हुने बताए । यसलाई जरैदेखि निको पार्न विद्यालय देखिनै विद्यार्थीलाई सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>