Breaking News

चितवनका थपलिया बागमतीको मुख्यमन्त्री बन्ने सम्भावना बढ्यो, संसदीय दलको नेता १४ गते छानिँदै

Banner

चितवन, पुस १२-

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बागमती प्रदेशको संसदीय दलको नेता पर्सी पुस १४ गते छान्ने भएको छ ।

बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट भए पनि संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । एमालेबाट सम्भावित मुख्यमन्त्रीका ३ जना दाबेदार निर्वाचनमा पराजित भएसँगै सिनियर नेता एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जेएन) दलको नेता सर्वसम्मत हुने सम्भावना बढेको छ । केन्द्रीय राजनीतिक समिकरणअनुसार मुख्यमन्त्री एमालेले पाएमा चितवनका एमाले नेता थपलिया बागमती प्रदेशको मुख्य मन्त्री बन्ने छन् ।

दलको नेताको लागि अन्य प्रदेशसभा सदस्यहरूले सार्वजनिक रूपमा इच्छा व्यक्त नगरिसकेको अवस्थामा थपलिया नेता हुने सम्भावना बढी रहेको छ । एमाले बागमती प्रदेशका सचिव विजय सुवेदीले यसबारे निर्णय नभई आफूले केही भन्न नमिल्ने नारायणी अनलाइनलाई बताए । आफूलाई उहाँ अग्रज नेता हुनुहुन्छ भन्ने मात्र थाहा भएको सुवेदीले बताए ।

देशको राजनीतिक अवस्थाले कोल्टे फेरेपछि यसको प्रभाव बागमती प्रदेशमा पनि परेको छ । सबैको चासोको रुपमा हेरिएको बागमती प्रदेशको मुख्यमन्त्री को बन्लान् भन्ने चर्चा पेचिलो बनिरहँदा सत्ता समीकरण नै फेरिएपछि अब एमाले–माओवादीको सरकार बन्ने भएको छ ।

यसअघि मुख्यमन्त्रीको भाग नेपाली कांग्रेसले दाबी गर्दै आइरहेको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अब माओवादीको समर्थन नेकपा एमालेलाई भएको छ । जसका कारण पनि कांग्रेसको पोल्टामा परिसकेको मुख्यमन्त्रीको भाग पुनः उम्किएको छ ।

एमालेसँग माओवादी मिल्नेबित्तिकै कांग्रेस अल्पमतमा पर्छ । कांग्रेस अल्पमतमा पर्ने बित्तिकै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ ।

त्यसो त, पहिलो कार्यकालमा हालसम्म तीन जना मुख्यमन्त्री पाएको बागमतीमा दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री को बन्लान्, त्यो हेर्न अब केही समय मात्रै कुर्न पर्ने छ । ७ प्रदेशमध्ये बागमती प्रदेशमा मुख्यमन्त्री कसलाई र बाँकी मन्त्रालयहरु ककसलाई भागबण्डा गरिने त्यो निर्णय केन्द्रले नै तयार गर्छ ।

तर कांग्रेसको रिङ आउट भएपछि माओवादी केन्द्र र एमालेमा को मुख्यमन्त्रीको आकांक्षी ? कसको पहुँच कति ? यसलाई आधार मान्ने हो भने पनि बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा नेकपा माओवादी केन्द्रका १ र नेकपा एमालेबाट १ गरी २ सांसदको नाम चर्चामा छन् । एमालेबाट जगन्नाथ थपलिया र माओवादीबाट शालिकराम जम्कट्टेलको नाम अहिले अग्रपंक्तिमा रहेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदारमा चितवनबाट निर्वाचित प्रदेश सभा सदस्य जगन्नाथ थपलियालाई अघि सार्ने नेकपा एमालेको रणनीति पहिल्यै देखि थियो । अघिल्लो प्रदेश सभामा पनि एमाले–माओवादी मिलेर सरकार गठन हुँदा मुख्यमन्त्री एमालेको पोल्टामा पर्न सफल भयो ।

जसका कारण प्रदेश सरकारको पहिलो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए एमालेका डोरमणी पौडेल । त्यसोत, अघिल्लो निर्वाचनमा प्रदेशसभाको पहिलो दल बनेको एमाले यो पटक २७ सिटमा खुम्चिएर दोस्रो बन्यो । तर माओवादी र राप्रपाको समर्थनमा सरकार गठन गर्न पाउँदा एमालेका थपलिया मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

पाँचदलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचनमा होमिएको एमालेले आफ्ना गहकिला सदस्यहरुलाई सांसद भवनमा ल्याउन सकेन । बागमती प्रदेशमा एमालेको भागको मुख्यमन्त्री परे २७ सांसदहरु मध्ये संसदीय दलको नेतामा चर्चा कमाएका थपलिया नै एमालेका एकल मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थपलिया नेकपा एमालेको केन्द्रीय सचिव समेत हुन् । चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा एमालेका जगन्नाथ थपलिया निर्वाचित भएका हुन् । थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>