रोचक

नेपालको यस्तो ठाँउ जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ

Banner

बझाङ,मंसिर २६-

चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिकालगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद लागेपछि बेंसी झर्ने गर्छन् ।

भेडा पालकको हैरानी वास्तवमै टिठलाग्दो छ । भेंडा लिएर खर्कमै रात बिताउने क्रममा भेंडापालकले पटकपटक भेंडा गुमाएका छन् । साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरुले धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यावसायी साइपाल गाउँपालिका–१ का कालु धामीले बताए ।

सामुदायिक वनमा भेंडा चराएबापत शुल्क तिर्नुपर्ने झन्झटिलो नियमले किसानलाई निराश बनाएको छ । धामी भन्छन् ‘एक जनालाई पैसा दिएर पठायो केही दिनपछि अर्को गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा प¥यो भन्दै पैसा माग्न आउँछन् पैसा नदिए भेडा नै खोसेर लैजान्छन । धामीको भनाइअनुसार एउटै वनमा ८÷१० दिन भेडा चराएबापत पटकपटक गरी १५/२० हजारसम्म तिर्नुपर्छ ।

कतिपय ठाउँ यस्तो छ । जंगलमा चराउन छोडेका भेडा चोरेर खाइदिन्छन । बझाङदेखि डोटी लैजाँदा र ल्याउदा बर्षमा कम्तीमा पनि १५÷२० भेडा च्यांग्रा चोरकै लागि छुट्याउनुपर्ने बाध्यता रहेको भेडापालकको गुनासो छ ।

भेंडी चरन क्षेत्रका हिमपात सुरु भएपछि भेंडीगोठ बेंसीतर्फ झर्नुपरेको साइपाल गाउँपालिका १ का भेंडापालक जयबहादुर बोहराको भनाइ छ । ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा, भेडाबाख्रालाई आहारको समस्या हुने गर्छ,’ बोहरा भन्छन् ‘भेडापालक किसान वर्षातमा ३ हजार मिटरदेखि ४ हजार मिटरको उचाइमा भेंडीगोठ राख्ने गर्छन् । बर्खाको बेला उच्च लेकाली भेगका पाटनमा भेंडा चराउन लैजान्छन् ।’

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेंसीतिर झर्ने गरेको साइपाल गाउँपालिका–१ का स्थानीय मिलन धामीको भनाइ छ । जिल्लाका अधिकांश ठाउँको प्रमुख पेसाका रूपमा रहेको भेंडापालन व्यवसाय गर्ने किसान विभिन्न समस्याका कारण यस पेसाबाट दिक्कसमेत हुन थालेका छन् । हिउँदयाममा बझाङका विभिन्न जंगल चहार्दै बैतडी हँुदै डोटी जिल्लाको बौलेख र सकाइल पुग्छन् ।

परापूर्वकालदेखि भेंडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलबिसौना, रिलु, मष्ठा, गडराय, दहवगरलगायतका करिब ३ सयभन्दा बढी परिवारले पालेका ३० हजारभन्दा बढी भेडा च्यांग्रालाई चरन संकट सामना गर्नुपरेको छ ।

यातायातको सुविधा नपुगेका यहाँका धेरै ठाउँहरूमा अहिले पनि भेंडा च्यांग्रामार्फत दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गरिन्छ । चरन क्षेत्रमा देखिएको समस्याका कारण व्यवसायमा नै संकटमा पर्न थालेकाले परापूर्व कालदेखि नै भेडा हिँडाउने, चराउने र बास बस्ने ठाउँमा देखिएको अवरोध हटाउन सरकारले नै पहल गर्नुपर्ने भेंडापालकको माग छ । स्थानीय सरकारले पनि यसप्रति ध्यान नदिएको उनीहरूको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>