अन्तर्राष्ट्रिय
छिमेकीलाई गाली गर्न घरमै लाउडस्पिकर जोडेर रातभर चिच्याउने महिलालाई जेल सजाय

ताइवान फागुन ६ –
मध्यरातमा मस्त निद्रामा रहेका बेला एक्कासि ठुलो आवाजमा कसैले गाली गरेको सुन्दा कस्तो होला ?ताइवानको काओसियुङका बासिन्दाले विगत दुई वर्षदेखि यस्तै सास्ती भोग्दै आए ।
एउटी सनकी छिमेकी महिलाको हर्कतले दर्जनौं मानिसको निद्रा हराम भएको थियो । अन्ततः अदालतले ती महिलालाई यो हर्कतका लागि जेल सजाय सुनाएको छ ।
काओसियुङको अदालतले हालै चेन थरकी ती महिला विरुद्ध फैसला सुनाएको हो। उनले आफ्नो घरको बाल्कोनीमा साउन्ड सिस्टम र मेगाफोन नै जडान गरेकी थिइन् ।
सन् २०२३ को मे महिनादेखि उनले रिस उठेका छिमेकीलाई गाली गर्न सोही मेगाफोन प्रयोग गर्न थालिन् । हप्तामा कम्तीमा तीन पटक र त्यो पनि मध्यरातमा उनले यस्तो हर्कत देखाउँथिन् ।
उनको आवाज यति ठुलो हुन्थ्यो कि जसले गर्दा विवाद नभएका अन्य छिमेकीको शान्ति पनि भंग हुन्थ्यो । हरेक पटक उनी बढीभन्दा बढी भोल्युममा कराउँथिन् र यो क्रम लामो समयसम्म चल्थ्यो ।
झन्डै दुई वर्षसम्म यो अत्याचार सहेर सम्झाउँदा पनि नमानेपछि दर्जनौँ छिमेकीले मिलेर प्रहरीमा उजुरी दिए। यो मामला अदालत पुग्यो ।
अदालतमा ती महिलाले राति मेगाफोनबाट गाली गरेको स्वीकार गरिन् । तर, उनले छिमेकीले हल्ला गरेर आफूलाई सुत्न नदिएकाले कहिलेकाहीँ मात्र त्यस्तो गरेको दाबी गरिन् ।
तर न्यायाधीशले उनको दाबीलाई अस्वीकार गरिदिए। मध्यरातमा नियोजित रूपमा उपकरण प्रयोग गरेर अपशब्द बोल्नु र अरूलाई दुःख दिनु समाजमा स्वीकार्य नहुने अदालतको ठहर छ । यसका लागि उनलाई तीन महिनाको जेल सजाय सुनाइएको छ ।
यद्यपि, उनले जेलको सट्टा ९० हजार ताइवान डलर जरिवाना तिरेर छुट्न सक्ने विकल्प पनि दिइएको छ । ती महिलाले यो फैसलाविरुद्ध अपिल गर्न भने पाउने छिन् ।
यसअघि पनि छिमेकीलाई दुःख दिन ठुलो आवाजमा कुकुर भुकाउने र १६ वर्षसम्म लगातार ठुलो आवाजमा संगीत बजाउने मानिसहरूमाथि कारबाही भएका घटना सार्वजनिक भएका थिए । न्युज एजेन्सी नेपाल

























