चितवन विशेष
मगर संघ भरतपुर–२६ को भवन उद्घाटन

चितवन, मंसिर २५–
नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नम्बर–२६ ज्योतिनगरको भवन उद्घाटन गरिएको छ । शनिबार वडाध्यक्ष ज्ञानप्रसाद खनालले भवनको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै खनालले वडाका तर्फबाट संघलाई निरन्तर सहयोग रहने बताउनुभयो । उहाँले बाँकी काम पुरा गर्न आवश्यक सहयोग र सहजिकरण गरिने जानकारी दिनुभयो । उहाँले मगर संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पनि प्राथमिकताका साथ काम गरिने बताउनुभयो ।
नेपाल मगर संघ भरतपुर महानगरपालिका वडा नं.–२६ की संस्थापक अध्यक्ष मनकुमारी रानामगरले २५ रुपैयाँबाट सुरु गरिएको अभियान सफलतातर्फ उन्मूख भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२५ रुपैयाँ जम्मा गरेर काम सुरु गर्दा निकै गाह्रो थियो । पन्ध्र वर्षपछि हाम्रो हामीले देखेको सपना पुरा भएको छ ।’ सवैको साथ र सहयोगबाट भवन निर्माण भएको भन्दै उहाँले यस्तो साथ र सहयोग निरन्तर सबैबाट पाउने अपेक्षा राखेको बताउनुभयो ।
सो कार्यक्रममा भवन निर्माणमा योग्दान दिने र उत्कृष्ठ विद्यार्थी गरी ४४ जनालाई सम्मान गरिएको थियो । २०६४ सालदेखि भवन निर्माण सुरु भएको थियो । एक कठ्ठा जग्गामा रहेको भवनलाई अझै संग्रालयमा परिणत गर्ने योजनामा संघ रहेको छ । संघका अध्यक्ष टेक बहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा बृद्ध सेवा समाजका केन्द्रीय सदस्य चिजकुमार आलेमगर, नेपाल मगर संघ चितवनका सहसचिव भिमबहादुर थापा मगर, पूर्व अध्यक्ष टेक बहादुर सारुमगर लगायतको उपस्थित रहेको थियो ।

























