समाज

भूकम्पपीडित भन्छन्ः ‘घरले पेट अघाउँदो रहेनछ’

Banner

ढोरपाटन, मङ्सिर २३-

काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन् । सिमेन्टको ब्लकको पर्खाल । निलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । यहाँ बस्ने दलित समुदायको पीडा छुट्टै छ । विसं २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरुको घर भत्कियो । त्यही बर्खागाउँ नै पहिराले चिराचिरा प¥यो ।

घरसहित भएभरको सम्पत्ति पहिराको उच्च जोखिममा परेपछि उनीहरु घरबासविहीन भए । केही वर्ष उनीहरु छरछिमेकी र आफन्तकामा आश्रय लिएर बसे । सरकारले १० घरपरिवारलाई गत वर्ष बिहुँ करलिममा नमुना बस्ती निर्माण गरेर हस्तान्तरण ग¥यो । उनीहरुले घर त पाए तर सामान्य आधारभूत आवश्यकता परिपूर्ति गर्ने माध्यम भने पाएनन् । भूकम्पपीडितले अहिले सरकारसँग सामान्य भए पनि रोजीरोटीका लागि रोजगारको माग गरेका छन् ।

स्थानीय माया परियार भन्नुहुन्छ, “दैव पनि हामी गरिब दुःखीमाथि लाग्यो, सात वर्ष अगाडि भुइँचालो र पहिराले घरबारी सबै चिराचिरा पारिदियो, घर र भए भरको सम्पत्ति बस्न नमिल्ने गरी भत्किएपछि हामी धेरै वर्ष बाटोमा बस्यौँ, पोहोर सरकारले यो ठाउँमा घर बनाइदियो र यहाँ स¥यौँ, सरकारबाट अरु सेवासुविधा भने केही पाउन सकेका छैनौँ ।”

परियारले आफ्नो तीन जनाको परिवार रहेको र गरिखाने ठाउँ नहुँदा बिहानबेलुकीको छाक टार्न समस्या भएको बताउनुभयो । उमेरले ६० वर्ष काटिसक्नुभएकी मायालाई अहिले बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गिट्टी कुटेर परिवार चलाएको भन्दै हातपाखुराले काम गर्न छाडे भोकै बस्नुपर्ने चिन्ताले उहाँलाई सताइरहेको छ ।

“अहिलेसम्म त हातपाखुरा चल्दैछन्, दुई/चार दिन काम गरे भने बिहान बेलुकी छाक टर्छ, घरले खानलाउन दिने रैनछ”, परियारले भन्नुभयो, “अहिले त काम पनि पाइएको छैन, चिसो बढ्न लाग्यो, यो बेला काम गर्न गाह्रो हुन्छ, थोरै आफ्नै बारी भएको भए मकै कोदो लगाएपछि खानपुग्थ्यो ।”

अर्का स्थानीय रुपा परियारले नमुना बस्तीमा खानेपानीको चरम अभाव रहेको बताउनुभयो । उहाँले खानेपानीको जोहो गर्न घण्टौँ बिताउनुपर्ने अवस्था रहेको बताउनुभयो । सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उहाँको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने उहाँको भनाइ छ ।

परियारले घरसँग जोडिएको बाँझो जमिनलाई देखाउँदै भन्नुभयो, “हाम्रो सम्पत्ति भनेको यही घर मात्रै हो, यो जमिन पनि अरुको पर्छ, घर मात्रै भएर के गर्ने, गरिखाने ठाउँ छैन, काम गर्ने कहाँ गर्ने रु के काम गर्ने रु, निकै अप्ठ्यारो अवस्थामा छौँ हामी ।”

पहिराले नबगाउँदासम्म आफ्नो गरिखाने जग्गाजमिन प्रशस्तै भए पनि अहिले उक्त ठाउँमा ढुङ्गा मुडामात्रै थुप्रिएको उहाँको भनाइ छ । सरकारले पीडितका लागि गरिखाने ठाउँ नदिए पनि रोजगारीको अवसर मिलाइदिन परियारले अपिल गर्नुभयो ।

स्थानीय लालबहादुर दमाईंले आफूलाई सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गर्नुभयो । उहाँले आफ्नो घर भूकम्पले भत्किएको र जग्गाजमिन सबै पहिराले बगाएको भन्दै अहिले आफू सडक कुनामा बस्नुपरेको बताउनुभयो । दमाईंले सबै पीडितले घर पाउँदा आफू वञ्चित भएको गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “गाउँका अरु जस्तै म पनि भूकम्प र पहिरापीडित हुँ, अरुको जस्तै अवस्था हो मेरो, अरुले घर भए पनि पाए मैले त्यही घर पनि पाएन, अहिले सडक छेउमा छाप्रो बनाएर बस्दै आएको छु, खानालाउनको पनि उस्तै समस्या छ, बुढो भए काम गर्न सक्दैन ।”

गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको जनाउँदै उक्त समस्या केही समयमै समाधान हुने बताउनुभयो । उहाँले यस बस्तीसम्म सडक पु¥याउने प्रयास थालेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>