Breaking News

गैँडाकोटको मौलाकालिकामा फागुनभित्रै केबलकार चढ्न पाइने, पाँच मिनेटमै मन्दिर पुगिने

Banner

गैँडाकोट, मंसिर २०

गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार सञ्चालनमा आउने भएको छ ।

केबलकार निर्माणको काम अहिले अन्तिम चरणमा रहेकोले फागुनबाट सञ्चालनमा ल्याउने योजना निर्माण कम्पनीले बनाएको हो ।
केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । ‘फागुनभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा छौं,’ परियोजना प्रबन्धक गोकुल साउदले भने ।

आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ । करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गरेको साउदले बताए । केबलकारले करिब ४०० जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ । मन्दिर नजिकमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । पूर्वी नवलपरासीकै दुर्गम पहाडी क्षेत्र मिथुकरमको जग्गा किनेर सरकारलाई दिएको हो । केबलकारले अधिग्रहण गरेको जग्गा नेपालकै कुनै स्थानमा सट्टा भर्ना दिनुपर्ने नियम छ ।

चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरिरहेको छ । गैंडाकोट–१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन छन् । त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । केबलकारको लम्बाइ एक हजार २०० मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा रहनेछन् । जसमा एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना दर्शनार्थी बोकेर हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने पनि कम्पनीको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>