Breaking News

भरतपुरमा खानेपानीको सेवा लिने १५ हजार घरधुरी थपिए, बिपन्न वर्गलाई धारा जोड्नै सकस

Banner

चितवन, मंसिर २०

भरतपुर महानगरपालिकामा चार वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार १५ हजार नयाँ थपिएर अहिले खानेपानी प्रयोग गर्ने ३५ हजार घरधुरी पुगेका हुन् ।
अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा २०७४ मसान्त यता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एवम् मर्मत् सम्भार भएका छन् । यो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपैयाँ खानेपानीको क्षेत्रमा बिनियोजन भएको छ ।

महानगरपालिकाले दिगो विकासको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको दाबी गर्दे आएको छ । भरतपुर महानगरपालिकाले सात हजारसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरे पनि कार्यान्वयनमा आएको छैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिन उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गरेका थिए ।

नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीव्ररुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । भरतपुरमा केही वर्षअघि घण्टै हिडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरबासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजनाहरु निर्माणधिन रहेको उनको भनाइ छ । भरतपुरका २९ वटा वडामा खानेपानीको ठूलो–ठूलो आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने निर्माणधिन, डीपीआर र सञ्चालनमा आउन बाँकी कामहरु अगाडि बढिरहेका छन् ।

कहाँ कुन आयोजना कति लगानीमा बन्दै छन् ?

भरतपुर खानेपानी व्यवस्थापन वोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं.९, ११ र १२ सेवा क्षेत्र रहने गरी २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी तीन करोड रुपैयाँको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

यस्तै प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.६ र १३ सेवा क्षेत्र रहने गरी चार करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा दुई वटा ओभरहेड टंकी र दुई वटा डिप बोरिङसहित पाइपलाइन बिस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घर–घरमा खानेपानी पुग्ने छ ।

यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.१५ सेवा क्षेत्र रहने गरी तीन करोड ६० लाखको मंगलपुर खानेपानी आयोजनामा ओभरहेड ट्याङ्की र डिप बोरिङसहित पाइपलाइन बिस्तार भई आयोजना सञ्चालनमा आएको छ ।

यस्तै नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुई वटा ओभरहेड ट्याङ्की र दुई वटा डिप बोरिङसहित करिब ७२ किमी पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं.१० र ११ सेवा क्षेत्र रहने गरी २८ करोडको जखडीमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं.९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना दुई करोडको सर्वेक्षण सम्पन्न भई डीपीआर तयारी भई प्रक्रिया अगाडि बढेकोे छ ।
यस्तै भरतपुर महानगरपालिका वडा न. १५ को फूलबारी खानेपानी आयोजना दुई करोड ६९ लाखको हस्तान्तरण लिई १० किमी पाइपलाइन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।

नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गतको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत् एडीबीको सहयोगमा भरतपुर महानगरपालिका वडा नं.१ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आर्थिक वर्षको अन्त्यमा डीपीआर तयार हुने सम्झौता भएको छ ।

यस्तै भरतपुर खानेपानी व्यवस्थापन वोर्डको आन्तरिक लगानीमा वार्षिकरुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १५ र वडा नं.२२ समेतका सेवा क्षेत्रहरुमा पाइपलाइन विस्तार गरी सेवा वृद्धि गरिएको छ ।

प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.१ हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं.५ को कैलाशनगर दुई करोड ७१ लाखको आनन्दपुर दुई करोड ४९ लाख रुपैयाँको र वडा नं.१५ को मंगलपुरमा ओभरहेड टंकी निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचारु भएर सञ्चालनमा आएको छ ।

विपन्न वर्गलाई धारा जोड्न सकस

भरतपुर महानगरपालिकाले खानेपानीको पहुँच बिस्तार गरेको दाबी गरिरहँदा गरिब र बिपन्न वर्गलाई भने धारा जोड्न नै सकस हुने गरेको छ । भरतपुरमा वडाको सिफारिस लिएर खानेपानी बोर्डमा शुल्क बुझाएर धारा जोड्ने प्रक्रिया रहेको छ । राजस्व, सामान र जडान खर्च जोड्दा एउटा धारा  जोड्दा १२ देखि १५ हजार रुपैयाँसम्म खर्च लाग्छ । जुन सामान्य नागरिकको लागि निकै ठूलो रकम हो । मासिक शुल्क लिने भएपछि निःशुल्क धारा जोड्ने व्यवस्था हुनुपर्ने नागरिककको माग छ ।

भरतपुर महानगरपालिका–११ मृगकुञ्ज टोलका राम विश्वकर्माले धेरै पैसा लाग्ने भएकोले खानेपानीको धारा जोड्न नसकेको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । उनले भने, ‘ नयाँ धरा जोड्दा झण्डै १५ हजार जति खर्च हुने रहेछ । फेरि महिनै पिच्छे शुल्क पनि तिर्नुपर्छ । यो रकम हामीजस्तो गरिबको लागि महंगो पर्छ ।’ उनले मासिक शुल्क लिएपछि निःशुल्क धारा जडान गर्ने व्यवस्था हुनुपर्ने माग राखे । उनले भने, ‘सरकारले नागरिकबाट कर लिएको छ । तर, जलस्रोतको धनी देशमा पानीकोसमेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । यसलाई हटाउनुपर्छ ।’ महानगरले सात हजार लिटरसम्म खानेपानीमा छुट दिने भने पनि कार्यान्वयनमा आएको छैन । खानेपानी बोर्डमा नागरिकले प्रश्न गर्दा आफूहरुलाई थाहा नभएको कर्मचारीहरुले बताउँदै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>