राजनीति
जनमत‚ स्वतन्त्र पार्टी र राप्रपाले जनादेश पाउनु चिन्ताको विषय : उपेन्द्र यादव

विराटनगर, मंसिर १९–
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी‚ राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले जनादेश पाउनु चिन्ताको विषय भएको बताएका छन्। आज (आइतवार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले प्रतिनिधिसभा र प्रदेशसभाको परिणामप्रति सङ्केत गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन्।
अहिलेको निर्वाचनमा केही महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको र मधेश नेपाल नै होइन भन्ने जनमत पार्टीले जनादेश पाएको भन्दै उनले आफू चिन्तित भएको बताए।
यादवले भने, ‘घण्टी छाप आएको छ। चुनावअघि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो। ‘मधेश इज नट नेपाल’ मूल स्लोगन भनेर आएको जनमत पार्टीले जनादेश पायो। जनमत पार्टी मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो।’
यादवले राजतन्त्र फर्काउने एजेण्डा लिएको राप्रपाले पनि धेरै मत पाउनु अध्ययनको विषय भएको दाबी गरे। उनले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो। यो अध्ययनको विषय हो।’
घण्टी‚ राप्रपा र जनमत पार्टीले ल्याएको मत देशका लागि अग्रगमन हुन नसक्ने बताउँदै प्रजातान्त्रिक आन्दोलनले ल्याएका उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो।


























