राजनीति
जनताले देश टुक्र्याउँछु र राजा ल्याउँछु भन्ने शक्तिहरूलाई मत दिएः उपेन्द्र यादव

विराटनगर, मंसिर १८-
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा (एमाले) सँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्। आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।
‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ यादवले भने।प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। उनले अहिलेको जनमतले आफूहरू निर्णायक नभएकाले हाइसञ्चोको अवस्थामा रहेको बताए।
‘चुनावी परिणामले हामी निर्णायक पोजिसनमा छैनौं। सकभर प्रतिपक्षमै बस्छौं होला तर अब बन्ने सरकारको नीति हेरेर समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने हामी निर्णय गर्छौं,’ यादवले भने। अहिलेको चुनावी परिणामबाट लोकतान्त्रिक क्रान्तिकारीबीच सहकार्य र एकता जरूरी रहेको आवश्यकता देखिएको यादवले तर्क गरे।
‘परिवर्तनकारी शक्तिहरूले नेतृत्व गर्न नपाउँदा निराशाका कारण जनताले देश टुक्र्याउँछु भन्ने र राजा ल्याउँछु भन्ने शक्तिहरूलाई मत दिएको देखियो,’ उनले भने,‘यसले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य र एकताको खाँचो देखिएको छ।’



























