राजनीति
संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न कांग्रेस रुपन्देहीको आग्रह

रुपन्देही, मंसिर १८-
नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचना निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले बिज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तै प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निमार्णमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ ।



























