राजनीति
एकीकृत समाजवादीले समानुपातिकमा ३ प्रतिशत थ्रेस होल्ड कटाएन, गुम्यो ४ सांसद

काठमाडौँ,मंसिर १६–
एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्कापक्की भएको छ। राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेर समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्ने भए पनि समाजवादीले त्यो मापदण्ड पूरा नगर्ने भएको हो।
गठबन्धन गरेर चुनवामा गएको समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेस होल्ड (३ प्रतिशत मत) ल्याउने संभावना सकिएको हो। समानुपातिकमा ३ प्रतिशत मत नपाउँदा समाजवादीले कम्तिमा ४ सिट पाउने संभावना सकिएको छ।
शुक्रबार दिउँसो ४ बजेसम्म समानुपातिकतर्फको एक करोड ३ लाख ८२ हजार ८५ मत सदर हुँदा समाजवादीले २ लाख ९४ हजार ०६३ मत पाएको छ। जुन समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन आवश्यक पर्ने ३ प्रतिशतभन्दा कम मत हो। यही सदर मतका आधारमा समाजवादीले ३ प्रतिशत मत कायम गर्नका लागि ३ लाख ११ हजार ४६३ मत प्राप्त गर्नुपर्थ्यो।
समाजवादीलाई यही अवस्थामा थ्रेसहोल्ड पूरा गर्न १७ हजार ४ सय मत अपुग भएको छ। यस हिसाबले समाजवादीलाई थ्रेस होल्ड कटाउन अझै करिब २२ हजार मत आवश्यक पर्ने देखिन्छ। गणना बाँकी क्षेत्रबाट उसले त्यो मत कभर गर्ने संभावना सकिएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार अब समानुपातिकतर्फ तीन निर्वाचन क्षेत्रको मात्रै गणना पूरा गर्न बाँकी छ। प्रत्यक्षतर्फ मतगणना जारी रहेको दोलखा, स्याङ्जा २ र बाजुराको समानुपातिकतर्फको पनि मत गणना जारी रहेको पौडेलले जानकारी दिए।
उनले भने, ‘अब समानुपातिकतर्फ पनि हामी गणना अन्तिम चरणमा पुगेका छौँ। तीन क्षेत्रमा प्रत्यक्षसँगै समानुपातिक पनि गणना भइरहेको छ। ती क्षेत्रमा पनि समानुपातिकतर्फ केही मत गणना भइसकेको अवस्था छ।’


























