राजनीति
झलनाथ खनालको जालझेल गरेर चुनाव जित्ने योजना असफल : एमाले

काठमाडौँ, मंसिर १६–
नेकपा एमाले इलामले पूर्व प्रधानमन्त्री झलनाथ खनालको जालझेल र षडयन्त्र गरेर चुनाव जित्ने योजना असफल भएको बताएको छ। एमाले इलाम क्षेत्र नं १ निर्वाचन परिचाल कमिटीका संयोजक उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै खनालले बम आतंक, मतपेटिका साट्न प्रयास गरेर निर्वाचन जित्ने दुश्प्रयास गरे पनि सफल नभएको बताएका छन्।
उनले निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै एमालेका उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको आरोपसमेत लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो जुन पूरा हुन सकेन।’



























