राजनीति
समानुपातिकमा माओवादीले कटायो १० लाख भोट

काठमाडौँ, मंसिर ११–
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी छ । यो समाचार तयारपार्दा सम्म ८८ लाख १० हजार १४२ मत गणना सम्पन्न भइसकेको छ । यस्तोमा नेकपा (माओवादी केन्द्र)ले १० लाख भोट कटाएको छ । माओवादीले हालसम्म १० लाख ८ हजार १०० मत प्राप्त गरेको छ ।
यस्तै समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले)ले २४ लाख २३ हजार ३३५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म २३ लाख ३ हजार ६५७ मत प्राप्त गरेको छ । यस्तै चौथो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । यस पाटीले ९ लाख ८८ हजार ९६६ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा राप्रपाले ५ लाख १६ हजार ६८७ मत प्राप्त गरेको छ ।
त्यस्तै छैठौं स्थानमा जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख २ हजार २५१ मत प्राप्त गरेको छ । हालसम्मको नतिजा अनुसार एमालेदेखि जसपासम्मको पाटीले थ्रेस होल्ड कटाउँदै राष्ट्रिय पाटी बनेको छ ।
यसैगरि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ३७ हजार ४९, सिके राउत नेतृत्वको जनमत पार्टीले २ लाख ३५ हजार १४४ मत प्राप्त गरेको छ । जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ती पार्टीले २ लाख २ हजार १०८ मत प्राप्त गरेको छ ।

























