राजनीति

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १५६ क्षेत्रको नतिजा सार्वजनिक, ९ क्षेत्रको बाँकी

Banner

काठमाडौँ, मंसिर ११–

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सिटको लागि दलहरुबीच प्रतिस्पर्धा चलिरहेको छ । निर्वाचन आयोगका अनुसार १६५ मध्ये १५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ।

हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। नेकपा माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७÷७, जनता समाजवादी पार्टी (जसपा)ले ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक/एक सिट जित्दा ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

मतगणना चलिरहेका ६ मध्ये ३ स्थानमा नेपाली कांग्रेस, २ स्थानमा नेकपा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेका छन्। कांग्रेस उम्मेदवारहरु धनुषा ३ मा महेन्द्र यादव, उदयपुर १ मा डा नारायण खड्का र सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।

कार्कीको निर्वाचन क्षेत्र सुनसरी ४ मा विवाद हुँदा मतगणना रोकिएको छ। मतगणना जारी रहेका इलाम १ मा एमालेका महेश बस्नेत र सुनसरी ३ मा एमालेकै भगवती चौधरी अगाडि छन्। सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन्। बाजुरा, दोलखा र स्याङ्जा २ मा गरी तीन निर्वाचन क्षेत्रको मतगणना नै सुरु भएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>