राजनीति
रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका लाइनमा

काठमाडौँ, मंसिर ११–
तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् । पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम नआउँदै पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् ।
‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने । पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए ।
महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिमा दबाब परेको छ,’ पौडेल निकट नेता भन्छन्,’आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

























