Breaking News

प्रचण्डले छाडेको निर्वाचन क्षेत्रमा किन पछाडि परे माओवादी केन्द्रका डा भोजराज अधिकारी ?

Banner

चितवन, मंसिर ६-

प्रतिनिधिसभा तर्फ चितवन–३ को जारी मतगणनामा माओवादीको उम्मेदवार डा भोजराज अधिकारी तेस्रो स्थानमा हुनुहुन्छ ।

पहिलो स्थानमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल छन् भने तेस्रो स्थानमा माओवादी केन्द्रका डा भोजराज अधिकारी रहेका हुन् । पाण्डेले पाँच हजार ७२५ मत ल्याउँदा, बरालले चार हजार ४२४ र डा अधिकारीले चार हजार २९० मत ल्याउनुभएको छ । त्यस्तै स्वतन्त्रबाट उठ्नुभएको दिनेश कोइरालाले तीन हजार ४७२ मत ल्याउनुभएको छ । प्रचण्डको उत्तराधिकारीको रुपमा चुनावी मैदानमा होमिनुभएको अधिकारी पछाडि पर्दा माओवादी नेता तथा कार्यकर्ताहरु निराश बनेका छन् ।

चितवनको चिकित्सा क्षेत्रमा लोकप्रिय रहेका डा भोजराज अधिकारी मतगणनामा पछाडि पर्दे जानुलाई विज्ञहरुले कांग्रेसको मत नपाउँदाको अवस्था भनेर व्याख्या गरेका छन् । जसरी दलहरुबीचमा गठबन्धन भए पनि माओवादीको भोट कांग्रेसलाई गएको देखिन्छ भने कांग्रेसको भोट माओवादीले भने पाएको देखिँदैन । अर्काेतिर चितवन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रभाव चितवनका सबै क्षेत्रमा देखिएको छ । जसको कारण अहिले जारी मतगणनामा हलो चिन्हलाई घण्टी चिन्हले पछ्याइरहेको देखिन्छ । चितवन–२ मा पनि अहिलेका युवा मतदाताहरुको मत घण्टीलाई गएको देखिन्छ ।

पार्वतीपुरका मतदाता जगदिश बरालले विदेशबाट आफन्तहरुले घण्टीमा मतदान गर्न दबाब दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सबैका छोराछोरी, आफन्तहरुले घरमा फोन गरेर घण्टीमा मत दिन दबाब दिएका थिए ।’

पञ्चायतकालदेखि नै नेपालमा भएका निर्वाचनहरुलाई अध्ययन गर्दै आउनुभएको शिक्षाविद्ध रमाकान्त सापकोटाले डा भोजराजले कांग्रेसको मत पाउन नसकेकोले पछाडि पर्दे गएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोजराज राम्रो मानिस हो, स्वतन्त्र उठेको भए जित्ने थिए । यो उम्मेदवार भन्दा पनि दलप्रतिको असन्तुष्टि हो । भोजराजलाई कांग्रेसको भोट गएन ।’ उहाँले नेपाली मतदाताले हरेक निर्वाचनमा राजनीतिक दलहरुमाथि नयाँ नयाँ प्रयोग गरिरहेको बताउनुभयो । चितवन कांग्रेसभित्रको चरम गुटबन्दी, पार्टीभित्र दिनेश कोइरालाको विद्रोहलगायतका कारणले पाँच दलीय गठबन्धन बन्दा पनि डा भोजराजलाई सहज भएन । अर्काेतिर कांग्रेस र एमालेको तितरबितर भएको जनमतले गर्दा विक्रम पाण्डेको एकछत्र प्रभाव चितवन–३ मा फेरि पुर्नस्थापित बन्ने सम्भावना देखिएको छ । प्रभावशाली नेताहरुले पार्टी छाड्दा माओवादी संगठन निरन्तर कमजोर बन्दै गएको मार पनि डा अधिकारीलाई पर्न गएको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>