निर्वाचन
सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस-माओवादीको आपत्ति

काठमाडौं, मंसिर ३-
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले सामाजिक सञ्जालमा प्रेषित सूचना प्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शनिबार एक विज्ञप्ति जारी गरी विभिन्न अनलाइन सञ्चार माध्यमको समाचारको दुरुपयोग गरेर भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण जनाएका हुन् ।
‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’
निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी षड्यन्त्र गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् । दूराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गरेकामा पनि उनीहरुले आपत्ति जनाएका छन् ।
‘साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।


























