राजनीति
म्याग्दीका आठ मतदान केन्द्रको जिम्मा महिलालाई

म्याग्दी, कात्तिक २८-
म्याग्दीका आठ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । जिल्लाका एक सय २० मतदान केन्द्रमध्ये आठमा महिलालाई मतदान अधिकृत तोकिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगरपालिका–२ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको छ । “निर्वाचन गराउने कर्मचारी छनोट गर्दा महिला कर्मचारीलाई प्राथमिकतामा राखेका थियौंँ । मतदान अधिकृत भएर जान इच्छुक महिला कर्मचारीलाई हामीले खटाएका छौंँ”, सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार मुक्ति मार्ग मावि, घार ९ख० केन्द्रमा प्रतिज्ञा सुवेदी, ताकम मावि ताकम ९क० केन्द्रमा लालमाया छन्त्याल, रामचन्द्र मावि अर्जममा करुणा कार्की, राष्ट्रिय मावि नेप्टेचौर ९ख० केन्द्रमा साधनाकुमारी श्रेष्ठ र जनप्रिय मावि दरवाङ ९क० केन्द्रमा उमादेवी कँडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यसैगरी हिमाल आधारभूत विद्यालय पात्लेखेतमा शान्ति खत्री, अस्थायी केन्द्र कारागारमा अम्बिका शर्मा र मङ्गला मावि बाबियाचौर ९ख० केन्द्रका लागि पवि थापालाई मतदान अधिकृतको जिम्मा दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गराउने नेतृत्व पाएपछि महिला कर्मचारी उत्साहित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृत अम्बिका शर्माले मतदान गराउने मुख्य भूमिका पाएकामा आफूलाई खुसी लागेको बताउनुभयो । मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई निर्देशन दिएको छ । मतदानस्थलको भौगोलिक अवस्था अनुसार स्थानीयवासीको सहयोग लिएर मतदान केन्द्रलाई सकेसम्म अपाङ्गता मैत्री बनाउन मतदान अधिकृतलाई निर्देशन दिइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । रासस


























