राजनीति
ओलीले नेपाललाई भनेः पहिलेका गल्ती सच्याएर एमालेमै आउनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

सुर्खेत, कात्तिक २७-
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन्। ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं,’ आइतबार सुर्खेतमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले।
यस्तै, नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका छन्। ओलीले गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए। ‘अहिले गठबन्धन गरेकाहरू राजनीतिक दलहरू बिचौलिया हुन्, अब बिचौलियाको जमाना गए,’ उनले भने, ‘अहिलेको निर्वाचनमा पनि एमालेले बहुमत ल्याउँछ र आफ्नो सरकार बनाउँछ।’
अहिलेको निर्वाचनमा एमालेलाई हराउनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेको ओलीले बताए। ‘अहिले एमालेलाई हराउन विदेशी प्रतिक्रियावादीसँग मिलेर देशी प्रतिक्रियावादीहरू लागिपरेका छन्, म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, सय वटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन।’
उनले देशमा भएका अधिकांश कामहरू एमालेको नेतृत्वमा भएको दाबी गर्दै गठबन्धन गरेका दलहरूले घोषणापत्र ल्याएर जनतालाई अलमल्याउन खोजेको आरोप लगाए।


























