राजनीति
सुकुम्वासी वस्तीमा नेता सिंहले भने: चित्त बुझ्ने गरी तपाईंको समस्या समाधान गर्छु

काठमाडौँ, कात्तिक २७-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।
समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो । नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ ।”
थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता नेता सिंहले जनाउनुभयो । समस्या समाधान गर्दा जबरजस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर काम गर्ने उहाँको प्रतिबद्धता छ ।
सरकार र सुकुम्बासीलाई पनि हुने गरी जीत, जीतको मान्यता अनुसार समस्या समाधान गर्नेमा नेता सिंहको जोड थियो । मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने जानकारी गराउनुभयो । रासस


























