चितवन विशेष
विकास कोइरालाको कारबाही फुकुवाको माग गर्दै जुलुस निकाल्ने तयारी

चितवन, कात्तिक २६–
नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न उनको समूहले कांग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने तयारी गरेको छ । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा आज चितवन आउँदै छन् ।
कोइरालाको समूहले देउवाको ध्यानाकर्षण गराउने उद्देश्यले दुई स्थानमा जुलुस निकाल्ने तयारी गरेको छ । विकास कोइरालालाई न्यायको माग गर्दै केन्द्रिय सभापतिलाई ध्यानाकर्षण गराउन स्वतःस्फुर्त रुपमा भेला हुन भनिएको नेपाली कांग्रेस चितवनका पूर्व सह–सचिव राजन कार्कीले बताए ।
त्रिचोक र विरेन्द्र बहुमुखी क्याम्पसमा भेला भएर गठबन्धनको कार्यक्रम स्थलमा सहभागी हुन उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन् । २०७० सालको निर्वाचनमा तत्कालिन पार्टी सभापति सुशिल कोइरालाविरुद्ध कोइरालाले चितवन ३ मा बागी उमेदवारी दिएपछि कांग्रेसले कोइरालालाई पार्टीबाट निश्कासन गरेको थियो । पार्टीले गरेको कारबाही अवधि सकिँदा पनि कारबाही फुकुवा नभएको भन्दै उनको समूहले कारबाही फुकुवा गर्न माग गर्दै आएको छ ।

























