राजनीति
दार्चुला पुगेर प्रचण्डले भने–केपी ओली कायर हुन्, सरकारमा गएपछि लम्पसार पर्छन्

धनगढी, कात्तिक २४–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कायर भएको टिप्पणी गरेका छन् । बुधबार लोकतान्त्रिक वाम गठबन्धनले दार्चुलाको गोकुलेश्वरमा आयोजना गरेको आमसभामा बोल्दै प्रचण्डले ओलीलाई कायरको संज्ञा दिएका हुन्। उनले ओली भनेको चुच्चे नक्सामा भएको आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरेका छन्।
‘केपी ओलीले नक्सा बनाएको होइन। म पनि त्यही पार्टीको अध्यक्ष थिए। भ्रममा नपर्नुहोला अत्यधिक बहुमतले त्यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो। केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन्। चुनाव आएपछि ओली राष्ट्रवादको कुरा गर्छन्। सरकारमा गएपछि लम्पसार पर्छन्। ओली कायर छन्’, प्रचण्डले भने।
नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनको भनाइ छ। भारतसँग वार्ता गरेर समस्या समाधान गर्न आफूहरूले पहल गर्दा समेत ओलीले चासो नदिएको उनको दाबी छ।
यस्तै अहिले ओलीले चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाएका छन्। फरक सन्दर्भमा बोल्दै प्रचण्डले केपी शर्मा ओली अब प्रधानमन्त्री बन्न असम्भव नरहेको बताए। आफूले प्रस्ताव गरेका कारण ओली २ पटक प्रधानमन्त्री भएको दाबी गर्दै उनले अब ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।
‘संविधान बनाउन सहमत हुनुस् प्रधानमन्त्री दिन्छु भनेर पहिलो पटक ओलीलाई प्रधानमन्त्री दिएको हो। वाम एकतापछि दोस्रो पटक ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाएको हो। अब ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सम्भव छैन’, प्रचण्डले भने।


























