राजनीति

प्रचण्ड र रविसहित ७ जनालाई आयोगले सोध्यो स्पष्टिकरण

Banner

काठमाडौं, कात्तिक २३–
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ७ उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्ड र सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो।

यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घमा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ।

यस्तै जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ (२) का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अङ्कित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्य दृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>