Breaking News
नारायणी नदीमा गंगा आरती गर्दै बिक्रम पाण्डेको चितवनमा चुनावी प्रचारप्रसार सुरु

चितवन, कात्तिक १७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेले आज बिहीबार नारायणी नदीमा गंगा आरतीसहित चुनावी प्रचारप्रसारको औपचारिक शुभारम्भ गर्नुभएको छ ।
चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पाण्डेले भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदी किनारको सिद्धिगणेश मन्दिरमा बिहान पूजापाठ गरेपछि नारायणी नदी किनारमा गंगा आरती गरेर चुनावी प्रचारप्रसारको सुभारम्भ गर्नुभएको हो ।
प्रचारप्रसारको औपचारिक सुभारम्भ गरेपछि वडा नं.१६ र १७ मा घरदैलो कार्यक्रम गरिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिनुभयो । आजबाट पार्टीले चुनावी अभियानलाई थप तीव्र पार्ने उहाँले जानकारी दिनुभयो ।
चितवन–३ मा एउटै व्यक्तिले पनि कसरी परिवर्तन गर्न सक्दो रहेछ भनेर देखाउन कम्मर कसेरै चुनावमा होमिएको नेता पाण्डेले बताउनु भएको छ । गंगा–आरतीसहित चुनावी प्रचारप्रसारको औपचारिक सुभारम्भ गर्दै उहाँले सकारात्मक सोचका साथै चितवनको विकास, परिवर्तन र समृद्धिका लागि कम्मर कसेर लागेको बताउनु भएको छ ।
नेता पाण्डेले यसअघिका नेता र दलले घोषणापत्रमा मात्रै सीमित रहेर विकास गरेको बताउनुभयो । ‘घोषणापत्रमा समावेश दलका विकास घोषणापत्रमै सीमित छन्, तर हामी घोषणापत्रमा होइन, व्यवहारमा विकास गरेर देखाउँछौँ,’ पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले भन्नुभयो, ‘त्यसको लागि आम मतदाताले विश्वास गरेर संसदमा पठाइदिन आवश्यक छ ।
चितवन क्षेत्र नम्बर ३ प्रदेशसभाका उम्मेदवार ज्ञानुजंग लामाले राष्ट्रवादीको जग बलियो हुँदै गएको दाबी गर्नु भयो । बिहीबार भरतपुर–१६ स्थित नारायणी नदी किनारमा रहेको सिद्धि–गणेश मन्दिरबाट चुनावी प्रचारप्रसारको औपचारिक सुभारम्भ गरेपछि नेता लामाले चितवन–३ बाट राप्रपाको जीत सुनिश्चित भइसकेको दाबी गर्नुभयो । उहाँले पार्टीभन्दा पनि व्यक्तिको दक्षता र क्षमतालाई हेरेर मतदान गरिदिन आम मतदातालाई आग्रह गर्नुभयो । राप्रपाको तर्फबाट चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र प्रदेशसभामा तर्फ राप्रपा बागमती प्रदेशको क र ख मा उपाध्यक्ष ज्ञानुजंग लामा र राप्रपाकी सह–महामन्त्री रीना गुरूङ चुनावी मैदानमा हुनुहुन्छ ।
राप्रपाकी सह–महामन्त्री रीना गुुरूङले चितवन चितवन–३ मा विकासको लहर आइसकेको दाबी गर्नुभएको छ । बाँकी रहेका विकासलाई पूरा गराउनको लागि पनि चितवन–३ का जनताले विक्रम पाण्डेलाई जिताउन आवश्यक रहेको उहाँले बताउनु भएको छ । नेतृ गुरूङले चितवन–३ को विकासमा विक्रम पाण्डेको विकल्प नरहेको बताउनुभयो । अब मतदाताले दलभन्दा पनि विकास र समृद्धिलाई हेरेर मतदान गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ ।

भ्रष्टाचारहित समाज निर्माण गर्नुछ : नेता पाण्डे
चितवन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनता सानासाना समस्या समाधान नहुँदा ठूला तथा सत्ताधारी दलप्रति आजित भएको बताउनु भएको छ ।
आज भरतपुर–१६ झन्झने चोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताको समस्या समाधानको लागि आफू पुनः उम्मेदवार भएर चुनावी मैदानमा आइपुगेको बताउनु भएको हो । देश भ्रष्टाचारको खाडलमा गइसकेको हुँदा भ्रष्टाचाररहित समाज निर्माण होस् भनेर सिद्धि–गणेशको पूजा गरेर चुनावी अभियान सुरु गरेर मतदाताको दैलोमा उपस्थित भएको नेता पाण्डेले बताउनु भयो ।
























