देश/प्रदेश

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वाेच्चद्वारा सदर, गठबन्धनमा खैलाबैला

०
Banner

काठमाडौँ, कात्तिक ५–

रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयलाई सर्वाेच्च अदालतले सदर गरेको छ । बैङ्किङ कसुर मुद्दामा कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतले खारेज गरिदिएका थिए । एकिकृत समाजवादीका गुरुङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए ।

निर्वाचन अधिकृतको निर्णय विरुद्ध गुरुङ सर्वाेच्च गएका थिए । सर्वाेच्च अदालतका न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले निर्वाचन अधिकृतले गरेको निर्णयलाई सदर गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

गुरुङको उम्मेदवारी खारेजसँगै एकीकृत समाजवादीले भागबण्डामा पाएको प्रतिनिधिसभाको २० मध्ये एउटा निर्वाचन क्षेत्र गुमाएको छ। रुपन्देही २ का उम्मेदवार नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले अब सत्ता गठबन्धनसँग भिड्नु नपर्ने भएको छ।

पौडेलको प्रतिस्पर्धा अब आठ स्वतन्त्र र साना ६ दलका उम्मेदवारसँग हुनेछ। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल थालेको छ।

तर निर्णय भने नभएको सत्ता गठबन्धनको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले बताए। ‘साथीहरू छलफल गरिरहेका छन्, निर्णय भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने, ‘त्यहाँका साथीहरूको सरसल्लाह होला, कति दिन लाग्छ भन्ने अहिले भन्न सकिँदैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>