देश/प्रदेश

पूर्व मेयर द्वारिका चौधरीले गरे अर्कैको नामको जग्गा हडपेर माछापालन

Banner

इटहरी,असोज २९-

निवर्तमान इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरीले अर्कैको नामको जग्गा हडपेर माछापालन गरेको पाइएको छ । इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन चौधरीले हडपेर माछापालन गरेको पाइएको हो । इटहरी–१७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले करिब दुई महिनाअघिदेखि हडपेर माछापालन गरेका हुन् ।

‘घडेरी भएकाले हामी बेलाबेला मात्रै जग्गा हेर्न जान्थ्यौं,’ जग्गाधनी प्रदीपका छोरा अनमोलले भने, ‘२०६३ सालमा द्वारिकालालका बुबा नानुराम चौधरीको नाममा रहेको एक कट्ठा जग्गा हामीले किनेका थियौं ।’ पुर्जाअनुसार १ जेठ २०६३ मा नानुरामको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको छ ।

‘हुँदाखाँदाको जग्गा दादागिरी शैलीमा हडपेपछि हामीले उहाँलाई पटकपटक जानकारी गराए पनि वास्तै गर्नुभएन,’ पीडित अनमोलले द्वारिकालाललाई फोन सम्पर्क गरेको र चौधरीले भनेको कुरा उद्धृत गर्दै भने, ‘फोन गर्दा पनि कति किचकिच गरेको समय आएपछि पुरिदिन्छु भन्ने गर्नुभएको छ ।’

चौधरीले शक्तिको आडमा जग्गा हडपेको उनको आरोप छ । उनले भने, ‘जग्गा हडपेपछि हामीले इटहरी उपमहानगरपालिकामा निवेदन पनि हाल्यौं, प्रमुखमार्फत गत २७ भदौमा पत्र पठाइयो उहाँ (द्वारिकालाल)ले पत्र बुझ्न मान्नुभएन ।’

हुँदाखाँदाको ‘जग्गा भूमाफिया शैली’मा ज्यादती गरी हडप्नु अस्वाभाविक भएको उनको गुनासो छ । यहाँ अहिले झन्डै ८ लाख रुपैयाँ धूरले जग्गा बिक्री हुँदै आएको छ । यसरी हेर्दा एक कट्ठा जमिनको १ करोड ६० लाख रुपैयाँ हुन आउँछ ।

‘पहिलेकै अवस्थामा गरिदिनुहुन भनी पटकपटक अनुरोध गर्दा नमानेको र उल्टै धाकधम्की दिई मेरो नामको जग्गा भोगचलन गरेको हुँदा उक्त जग्गाबाट पोखरी बनाइ मेरो जग्गा खेतीयोग्य बनाई पाउन यो निवदेन पेस गरेको छु,’ इटहरी उपमहानगरपालिकामा गत २७ भदौमा पीडितले दिएको निवेदनमा भनिएको छ ।

सोही दिन इटहरी उपमहानगरबाट सात दिनभित्र आवश्यक कागजात र प्रमाणसहित कार्यालयमा उपस्थित हुन पत्र काटे पनि चौधरीले बुझ्न नमानेको पीडितले खतिवडा बताउ“छन् । चौधरीले ‘जग्गा पुरिदिने’ मौखिक जवाफ दिए पनि उनले अहिले भने फोन ‘ब्लक लिस्ट’मा राखेकाले आफूहरू न्यायका लागि भौतारिएको सुनाए ।

चौधरी इटहरी उपमहानगर प्रमुख हुँदा पटकपटक विवादास्पद छवि बनाएका व्यक्ति हुन् । नेकपा एमालेबाट २०७४ सालमा इटहरी प्रमुखमा निर्वाचित भएका चौधरी केही साताअघि मात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । अहिले सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उनलाई सुनसरी क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यस विषयमा चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनले नबोल्ने बताए । ‘त्यो विषयमा म बोल्दिनँ, त्यासबारे मलाई बोल्नु छैन,’ उनले फोन सम्पर्कमा भने, ‘त्यस विषयमा उसले मुद्दा नै हालेको छ, अदालतको फैसला पर्खिए भइ गो त ।’ राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>