धादिङ

चुनावपछि नागढुङ्गा-मुग्लिन सडक विस्तार तीव्र

Banner

चितवन,असोज २४-

सरकारले ४ मंसिरको निर्वाचनपछि नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड विस्तारको कामलाई तीव्रता दिने भएको छ । अहिले नागढुङ्गादेखि मलेखुसम्मका सडक मर्मतमा सीमित रहेको विस्तारको कामको गति चुनावपछि तीव्र पारिने सडक विभागले जनाएको छ ।

विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार यो सडकखण्डलाई तीन भाग लगाएर विस्तार गरिनेछ । नागढुङ्गा–नौबीसे र नौबीसे–मलेखु खण्डको विस्तार गर्न ठेक्का लागेको वैशाख २०७९ मै ठेक्का लागेको थियो । यो खण्डमा अहिले ठेकदार र परमार्शदाताले सर्भेको काम गरिरहेको छ । पोखरेलका अनुसार मलेखु–मुग्लिन खण्ड विस्तारको ठेक्काका लागि कम्पनी छनोट भएर आशयपत्र आह्वान भइसकेको छ । आशयपत्रको प्रक्रिया पूरा गरेर ठेक्का सम्झौता हुनेछ । यो खण्डको ठेक्का शर्मा जेडआईसीजी जेभीले ४ अर्ब ८० करोडमा पाउने गरी आशयपत्र जारी भइसकेको छ ।

नागढुङ्गा–नौबिसे खण्ड सुगुन र जेएमसी जेभीले १ अर्ब ३१ करोड रुपैयाँमा ठेक्का पाएको पोखरेलले बताए । नौबिसे–मलेखु खण्ड शर्मा लामा जेडआईसीजी जेभीले ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का हात पारेको छ । नागढुङ्गा–मुग्लिन खण्डमा काम गर्नु चुनौतीपूर्ण हुने पोखरेलले बताए । उकालो सडकमा अहिले सामान्य अवस्थामै जाम हुने समस्या छ । त्यसमाथि अब सडकको दायाँ–बायाँ निर्माणको काम सुरु गरेपछि जाम बढ्नसक्ने जोखम छ ।

‘सकेसम्म विस्तार गर्दा भित्ता नकाट्ने, चलिरहेका लेनका सडक नभत्काउने र भत्किन नदिने योजना छ,’ उनले भने, ‘सम्भव भएसम्म पर्खाल लगाएर सडक विस्तार गर्ने योजनामा छौं ।’ व्यवस्थित ढंगले सवारी र यात्रुलाई सकस नहुने ढंगबाट विस्तारको काम हुने उनले बताए । त्यसका लागि कहाँ कहाँ सडक डाइभर्ट गर्न सकिन्छ भनेर अध्ययन भइरहेको विभागले बताएको छ ।

सरकारले विश्व बैंकको आर्थिक सहयोगमा काठमाडौंको मुख्य नाका नागढुङ्गासम्माको सडक न्यूनतम् डेडिकेटेड दुई लेनको बनाउन लागेको हो । यो सडकखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ ।

यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो । यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन–नारायणगढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।

९२ किलोमिटर लामो यो सडकखण्डका बीच–बीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् । मुग्लिन–नागढुङ्गा सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।

नौबीसेमाथि नागढुङ्गासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डाखुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिग्रिएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ । उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।

झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुस्किल हुन्छ । दिनमा १८ देखि २० हजार सवारी आवात–जावत गर्ने सडकको अवस्था वर्षौंदेखि फेरिएको छैन ।

अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन–नारायणगढ खण्डको भन्दा बढी हुन्छ । त्यसैले यो खण्ड विस्तार सुरु भएपछि काठमाडौं–आउने जाने सवारी तथा यात्रुले जाममा बस्नुपर्ने जोखिम छ । विगतमा मुग्लिन–नारायणगढ सडक खण्ड विस्तारका क्रममा पनि त्यस्तो समस्या देखिएको थियो ।

विभागका विकास सहायता महाशाखा प्रमुख पोखरेल यो खण्ड विस्तार पछि काठमाडौं आउने सवारीको सास्ती हट्ने दावी गर्छन् । ‘विस्तारको समयमा केही सास्ती हुनसक्छ,’ उनी भन्छन्,‘विस्तारपछि काठमाडौं आउने सवारी र यात्रुले भोग्ने सास्ती हट्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>