खेलकुद

पिप्लेमा प्रथम बागमती प्रदेश मुख्यमन्त्री फुटबल कप हुने

Banner

चितवन, असोज १८–

चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा प्रथम बागमती प्रदेश मुख्यमन्त्री फुटबल कप–२०७९ हुने भएको छ । यही असोज २१ देखि कार्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पिप्ले युवा समाजले आज पत्रकार सम्मेलन गरि जानकारी दियो ।

प्रतियोगिताका संयोजक चिरञ्जीवी पाठकले पूर्वीचितवनकै व्यवस्थित प्रतियोगिताको रुपमा यस फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले पूर्वीचितवनमा पहिलोपटक २ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको बताए । ‘दर्शकको सहजताका लागि यसपटकबाट प्याराफिट निर्माण गरेका छौं, यो पूर्वीचितवनका फुटबल प्रतियोगितामा पहिलो प्रयोग हो’–पाठकले भने ।

यस प्रतियोगिता अवलोकनका लागि रु.३० को टिकट व्यवस्था गरिएको छ । सेमीफाइनल र फाइनलमा मूल्य बढाएर ५० रुपैयाँ पुर्‍याउने आयोजकको तयारी छ ।
दैनिक २ हजार दर्शक टिकट काटेरै खेलमैदान प्रवेश गर्नेमा आयोजक आशावादी छ ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ टिमसहित कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले प्रतियोगिताका खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा भरतपुर फुटबल क्लव र निजगढ युथ क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले गर्ने भएका छन् । यसअघि मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने तयारी थियो । मुख्यमन्त्री पाण्डे अहिले मातृशोकमा छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलका प्लेयर अफ दि म्याचलाई नगद ५ हजार प्रदान गरिने छ भने उत्कृष्ट गोलकर्तालाई पनि ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक पाठकले जानकारी दिए ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले पूर्वीचितवनमा यो स्तरको प्रतियोगिता लामो समयपछि हुन लागेकोमा खुशी व्यक्त गरे । उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षण अहिले नभएकाले उत्कृष्ट राष्ट्रिय खेलाडीहरुले प्रतियोगितामा सामेल हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय चितवनका फुटबल प्रतियोगितामा पुनः दर्शकको उपस्थिति बढ्दै गएकोमा खुशी व्यक्त गर्दै पहिलोपटक पूर्वीचितवनमा प्याराफिटको व्यवस्थाले अझै दर्शकको संख्या बढ्नेमा विश्वास व्यक्त गरे ।

पिप्ले युवा समाजले स्थानीयस्तरमा फुटबल एकेडेमी निर्माणका लागि प्रतियोगिता आयोजना गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>