Breaking News
दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

चितवन, असोज ४-
असोज महिना लागेसँगै दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ ।
आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको जनाएका हुन् । केही दिन पहिले एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म अन्य दिन ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भए पनि टीकाको दिन भने १०० प्रतिशत नै बुकिङ भएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ टीकाको दिन भरतपुर आउने टिकट १०० प्रतिशत नै बुक भएको छ । अहिले अनलाइनबाट टिकट काट्ने क्रम बढेकोले पनि समयमा नै टिकट बुकिङ गर्ने क्रम बढेको छ ।’
भरतपुरमा बुद्ध र गुण एयरलाइन्सले उडान गर्दै आइरहे पनि केही समयअघि देखि गुण एयरलाइन्सले भरतपुर उडान गर्न सकेको छैन । गुण एयरलाइन्सले आगामी आइतबारदेखि दसैँ लक्षित गरेर भरतपुर विमानस्थलमा उडान भर्ने जनाएको छ । बुद्ध एयरले हरेक दिन भरतपुरबाट काठमाडौँ नौवटा उडान गर्दै आएको छ भने भरतपुरबाट पोखरा हप्तामा दुई वटा उडान गर्दै आएको छ । भरतपुरबाट काठमाडौँको हवाइ भाडा चार हजार नौ सय ९० रहेको छ ।
























