Breaking News
भरतपुर महानगर र सडक डिभिजनको समन्वय अभावमा पानीको निकास नहुदा डुबान, नागरिकलाई सास्ती

प्रतिमा कुमाल
चितवन, भदौ २२–
सडक डिभिजन कार्यालय चितवन र भरतपुर महानगरपालिकाबीचमा विकासमा समन्वय हुन नसक्दा भरतपुरका नागरिकले डुबानको समस्या भोग्नुपरेको छ ।
पुलचोक–गोन्द्राङ सडक निर्माण भइरहेको कारण पानीको निकास नहुँदा भरतपुरका मुख्य बजार क्षेत्र र चोक डुबानमा परेका हुन् । डुबानले राजमार्ग हुँदै गुड्ने सवारीसाधन, पैदल यात्री व्यवसायीले सास्ती खेप्नुपरेको स्थानीय रामचन्द्र सुवेदी बताउँछन् । उनले भने, ‘विगतमा ढल नभएकै कारण पानी निकास नभएको भन्ने लाग्थ्यो । अहिले पुलचोक–गोन्द्राङ सडकमा ढल निर्माण भएको छ । तर, पानी पर्दा भरिएर छताछुल्ल हुन्छ । यतिको ढल बनेपछि पानी कटेर जान्छ भन्ने आशा थियो, आशै मरेर गयो ।’
नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई बिस्तार गरी छ लेनको बनाउन लागिएको हो । यस सडकखण्डमा बनाइएको ढल क्षमता भन्दा कम भएको हाकिमचोकका स्थानीय व्यवसायी महेश ढकाल बताउँछन् । उनले भने, ‘यो निर्माण भइरहेको ढल उचित क्षमता अनुसार बनेको छैन । यो ठाउँ ओरालो छ । अन्य एरियाको पानी पनि यहाँ जम्मा हुन आउँछ । जसले गर्दा ढलले थेग्न सक्दैन ।’ वर्षा हुदा पानी जम्मा भई घुँडाभन्दा माथि पुग्ने ढकालले बताए । स्मार्ट सिटीको पूर्वाधार विकासमा पानी जहाज चलाउन मिल्ने उनले व्यङ्ग्य गरे । उनले भने, ‘ निर्माणको काम अस्तव्यस्त भएकोले व्यापार कम हुदा व्यवसायीहरु एकदमै मारमा परेका छौं ।’
रत्नननगर नगरपालिका–१२ जमुनापुरकी रीता विश्वकर्माले यस सडकमा पानी जम्मा हुँदा साना सवारीसाधन चलाउन गारो हुने बताइन् । रोजगारीका कारण दैनिक भरतपुर आवतजावत गर्ने रीताको स्कुटर पानी परेको दिन आधा डुब्ने गर्छ । जलमग्न सडकमा यात्रा गर्न डर लाग्ने उनले गुनासो गरिन् । उनले भनिन्, ‘सवारीसाधन गुड्ने सडकमा पानी गुड्छ । धमिलो पानी त्यही माथि केही ठाउँमा खुला नाला छन् । बाटो छोडी स्कुटरसहित आफू पनि नालामा डुब्छुकी भन्ने डर लाग्छ ।’ विश्वकर्माले बाटोमा खाल्डाखुल्डी समेत रहेकोले लडेर पछाडिबाट अर्कोले हान्दिन्छ की भन्ने त्रासै त्रासमा घर पुग्ने गरेको बताइन् ।
बर्षा हुर्दा चौबिसकोठी र हाकिमचोकमा पानी जम्मा हुने गर्छ । सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले निर्माणधिन नालाले सडकको पानीमात्र निकास गर्न सक्ने बताए । ढलसमेत मिसाइएकाले पानी पर्दा नालाले धान्न नसकेको विचार राखे । झापाबाट भर्खरै सरुवा भएर चितवन आएका पौडेलले यस विषयमा अझै गहिराइमा गएर बुझ्ने नारायणी अनलाइनलाई बताए । ढल निर्माणधिन अवस्थामा रहेकाले पनि पानी निकासमा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले बिग्रेको काम जतिको दोष महानगरलाई दिने प्रवृति हटाउनुपर्ने बताए । सडक जलमग्न हुदा जनताले भोग्नुपरेको सास्ती प्रति अनविज्ञ नभएको बताउँदै अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘ठेकेदार र सडक डिभिजनले राम्रो सँग काम गरेका छैनन् । यस विषयमा बारम्बार छलफलमा रहेका छौं ।’
२०७७ माघ देखि यस सडक निर्माणको काम सुरु भएको थियो । ६.०८ किलोमिटर लामो यस सडकको काम २०७९ साल फागुन १० गतेसम्म गरिसक्नुपर्छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । सडकको लागत एक अर्ब १२ करोड रुपैयाँ छ ।

यस्तो बन्ने छ सडक
५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ । सडकको दायाँबायाँ ११.५\११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ ।
पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकोले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ । यही सडकखण्डमा विद्युत् लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ । छ लेनमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्ड रहेको छ ।

























