Breaking News
नारायणीको पुलबाट दुई महिनामा ६ जनाले हामफाले, तारजाली लगाउन माग

चितवन, भदौं २१-
चितवन र गैँडाकोट जोड्ने नारायणी नदीको पुलबाट दुई महिनामा ६ जनाले हामफालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विवेक पण्डितका अनुसार दुई महिनाको अवधिमा ६ जना पुलबाट हामफालेका छन् । जसमा दुई जनाको सकुशल उद्दार गरिएको उनले बताए । डीएपी पण्डितले पुलमा तारजाली गर्ने बारे खासै कतैबाट केही पहल नभएको बताएका छन् । सामाजिक सञ्जालमा भने नागरिकले पुलमा तारजाली गर्नुपर्ने माग गर्दै आएका छन् ।
पछिल्लो तीन सातामा मात्रै नारायणी नदीबाट चार जना हामफालेका छन् । जसमा सुत्केरी महिलादेखि वृद्धवृद्धासम्म छन् । तेस्रो सातामा दुई पुरुष र दुई महिला नारायणीको पुलबाट नदीमा हामफालेका हुन् । उनीहरु मध्ये एक जनाको तत्कालै उद्धार गरिएको छ भने अन्य तीन अझै बेपत्ता रहेका छन् ।
घटनाका श्रृङ्खला
आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका–३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भदौं ७ पूर्वी चितवनको खैरहनी नगरपालिकाकी २६ वर्षीया ऋृचा उप्रेती नारायणी नदीको पुलबाट हालफालेकी थिईन् । दिउँसो २ः४५ बजे पुलबाट नदीमा हामफालेकी ऋृचा अझै बेपत्ता छिन् । उनी डेढ महिनाको छोरी छाडेर हामफालेकी हुन् ।
त्यसको भोलिपल्टै अर्का एक पुरुष फेरि नारायणी पुलबाट नदीमा हामफाले । ८ गते बुधबार दिउँसो १ः४५ बजे भरतपुर–४ वैद्धिक टोलका ४९ वर्षीय बाबुराम आचार्य पुलबाट हामफालेका हुन् । घटनाबारे सूचना पाउना साथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको बिपद व्यवस्थापनसहितको उद्धार टोलीले उनको सकुसल उद्धार गरेको थियो ।
सोही घटनाको चारदिनपछि फेरि अर्का एक युवक पुलबाट हामफाले । आइतबार बेलुकी ५ः३५ बजे अन्दाजी ३० वर्षीय युवक पुलबाट नदीमा हामफालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर पुलमा रोकेर युवक नदीमा हामफालेको डिएसपी अधिकारी बताए ।
उक्त स्कुटर नुवाकोट घर भई हाल भरतपुर–३ नौघरे डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय भिमसेन विकको भन्ने खुलेको थियो । वेपत्ता उनको पनि खोजी कार्य भइरहेको छ भने हामफाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
डेढ महिने दूधे छोरी घरमै छाडेर हाम्फालिन् ऋचा
चितवन खैरहनीकी चेली ऋचा उप्रेतीको झापामा विवाह भएको थियो । उनी सुत्केरी बस्न माइती खैरेहनी नगरपालिकाको सुर्तनी आएकी थिइन्, उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।
त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।
ऋचाका पति मिलनका अनुसार अघिल्लो रात आफूसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन् । उनले भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’
चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी ग¥यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३औँ दिनको सांस्कृतिक विधि पु¥यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।
ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।
ऋचा कान्तिपुर सीटी कलेज (केसीसी)बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासी यस्तो दुःखद खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।
माइतीघर खैरेहनी आएपछि ऋचामा निद्रा नलाग्ने समस्या भयो । छोरीको स्याहार र दूध चुसाउन छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निराशाले गाँजेको थियो सायद । तर, उनले कहिल्यै अनुहारमा दुःख, पीडा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् ।
भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ सुनिलकुमार शाहका अनुसार गर्भवती भएपछि महिलामा आउने हर्माेनको प्रभावले मानिसको सोचमा परिवर्तन आउने बताए । उनले भने, ‘सुत्केरी भएपछि पारिवारिक जिम्मेवारीमा परिवर्तन आउँछ । एकातिर हर्माेनमा आउने परिवर्तन, अर्काेतिर पारिवारिक, समाजिक समस्याहरुले गर्दा सुत्केरीहरु आत्महत्या गर्छन् ।’ उनले आत्महत्या गर्नुको कारणमा बंशानुगत पनि हुने नारायणी अनलाइनलाई बताए । विशेषज्ञ शाहका अनुसार १५ देखि ४९ वर्षका महिलाहरुको मृत्युको दोस्रो मुख्य कारण आत्महत्या बन्ने गरेको छ । त्यसैगरी उनले ५ प्रतिशत भन्दा बढी सुत्केरी महिलामा डिप्रेसनको समस्या देखिएको पनि नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कतिपय सुत्केरी महिलाहरुले त डिप्रेसनको कारणले बच्चालाई हानी पनि गर्छन् । यस्तो समस्याको उपचार गरेमा निको हुन्छ ।’
नारायणी पुलमा तारजाली लगाउन माग
नागरिकले सामाजिक सञ्जालमार्फत् नारायणी पुलमा तारजाली लगाउन माग गरेका छन् । विशन क्षेत्रीले सामाजिक सञ्जालमा कसैले हामफाल्न नसक्ने गरी ताल जाली हाल्नुपर्ने माग गरेका छन् । त्यस्तै शंकर पाठकले त्यती तारजाली लागाउन कसैले ध्यान नदिएको गुनासो गरे । उनले संसारभर जहाँ पनी खतरा ठाउँमा तारजाली लागाउने गरिएको विचार व्यक्त गरे । त्यस्तै सामाजिक सञ्जालमा नारायणी अनलाइनको समाचारमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘ अब नारायणी नदीमा तारजाली लगाउन पर्ने भयो ।’ त्यसैगरी खेम कार्कीले मानिस पैसाको पछाडि दौडँदा यस्तो समस्या आएको बताउँदै बालबालिकालाई जीवन जिउने कला सिकाउन जरुरी भएको विचार राखेका छन् ।


























