Breaking News

चितवनमा डेँगु संक्रमण बढ्यो, साउनमा मात्र ७६ संक्रमित भेटिए

Banner

चितवन, भदौं १६-

चितवनमा गत वर्ष भन्दा यो वर्ष डेँगु संक्रमण बढ्ने सम्भावना देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष ३०३ जनामा डेँगु संक्रमण देखिएकोमा अहिले यो आर्थिक वर्षको पहिलो महिनामा नै ७६ जना संक्रमित भएपछि गत वर्षभन्दा बढ्न सक्ने प्रारम्भिक संकेत देखिएको हो ।

स्वास्थ्य कार्यालयले भदौं महिनाको तथ्यांक भने संकलन गर्दै छ । डेँगु प्रकोप बढ्ने मौसम नै भएकोले भदौं महिनामा संक्रमण अझ बढ्ने स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले नारायणी अनलाइनलाई बताए । उनले गत वर्ष पाँच हजार ४५५ जनामा गरिएको परीक्षणमा ३०३ जनालाई संक्रमण देखिएकोमा यो वर्ष साउन महिनामा मात्र ९८९ जनाको परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको छ । चितवनमा भेटिएका संक्रमितहरु कतिपय नवलपरासी र मकवानपुरका पनि रहेको उनले जानकारी दिए । उनले भने, ‘सवारीसाधनको आवतजावत र शहरीकरण बढ्दै गएसँगै पछिल्लो समय डेँगुको प्रकोप पहाडी क्षेत्रमा पनि फैलँदै गएको छ ।’ चितवनमा सबैभन्दा धेरै संक्रमित खैरहनी नगरपालिकाका रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष गएको जुनयता तीन हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म ६८ जिल्लामा संक्रमण फैलिइसकेको छ ।

तीमध्ये १० जिल्लामा उच्च संक्रमण देखिएको छ । ललितपुरमा सबैभन्दा धेरै एक हजार १८० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची गरी हाल १० जिल्लामा दुई हजार ६०५ जना संक्रमित छन् । यीमध्ये अगस्टमा मात्र दुई हजार ११९ जनामा डेँगु पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

नेपालमा सन् २०१९ पछि यो वर्ष डेँगु प्रकोपका रूपमा देखिएको हो । चिकित्सकका अनुसार डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो । बिहान–बेलुका पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न, झ्यालढोकामा जाली लगाउन र घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन विज्ञहरूको सुझाव छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>