चितवन विशेष

चाडपर्वमा चितवनको सुरक्षा मजबुत पारिने, सबै प्रहरी इकाइलाई तैनाथ रहन निर्देशन

०
Banner

प्रतिमा कुमाल
चितवन, भदौ १०–

जिल्ला प्रहरी कार्यालय चितवनले नजिकिदै गरेका चाडपर्वलाई अपराध रहित बनाउन आफू मातहतका सबै इकाइलाई निर्देशन दिएको छ । आज (शुक्रबार) चाडपर्वको बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न तदारुकताका साथ तैनाथ रहन प्रहरी इकाईका प्रमुखहरुलाई निर्देशन दिएको हो ।

चाडपर्वहरुमा हुन सक्ने अपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले शुक्रबार उद्योग वाणिज्य संघ, किराना पसल, सुनचाँदी व्यवसायी, बैंकर एसोसियसन, होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसंग अन्तरकृया कार्यक्रम समेत गरेको छ ।

सो क्रममा प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले व्यवसायीहरुले पनि खाद्य स्वास्थ्य सुरक्षातर्फ संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले चोरीका गरगहना, मोबाईल ककलगायतका सामानहरु बिना बिल खरिद नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरे ।

चोरीका सामान सहज रुपमा बिक्री हुँदा चोरी बढ्ने अधिकारीले बताए । लागू औषध, हिंसा लगायतका अपराधिक क्रियाकलाप र सामाजिक विकृती नियन्त्रण गर्ने सम्बन्धमा व्यवसायीहरु पनि सजग र संवेदनशिल बन्नु पर्ने उनको भनाइ छ । शंकालाग्दो काम भइरहेको थाहा पाए समयमा नै प्रहरीलाई सूचना दिनु समेत उनले व्यवसायीहरुसंग अनुरोध गरेका छन् । व्यवसायीहरुले सुरक्षालाई ध्यानमा राखि आफ्नो पसल अगाडी बाटो समेत समेट्ने गरि सीसी क्यामरा जडान गर्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल हेडक्वाटर १७ नंं गणका प्रहरी उपरीक्षक मनोज थापाले चाडपर्व लक्षित सुरक्षामा थप जनशक्ती परिचानन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हत्या, हिंसाका घटनाले बेलाबेलामा चर्चामा आउने चितवनमा चाडपर्वको समयमा चोरी, सवारी दुर्घटना, जुवातास, अबैध मदिरा, घरेलुहिंसा लगायतका अपराधिक कार्य बढ्ने गरेका छन् । यसको नियन्त्रणका लागि सबै प्रहरी इकाई र व्यवसायीलाई सर्तक बनाएको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारील जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>