चितवन विशेष
चाडपर्वमा चितवनको सुरक्षा मजबुत पारिने, सबै प्रहरी इकाइलाई तैनाथ रहन निर्देशन

प्रतिमा कुमाल
चितवन, भदौ १०–
जिल्ला प्रहरी कार्यालय चितवनले नजिकिदै गरेका चाडपर्वलाई अपराध रहित बनाउन आफू मातहतका सबै इकाइलाई निर्देशन दिएको छ । आज (शुक्रबार) चाडपर्वको बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न तदारुकताका साथ तैनाथ रहन प्रहरी इकाईका प्रमुखहरुलाई निर्देशन दिएको हो ।
चाडपर्वहरुमा हुन सक्ने अपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले शुक्रबार उद्योग वाणिज्य संघ, किराना पसल, सुनचाँदी व्यवसायी, बैंकर एसोसियसन, होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसंग अन्तरकृया कार्यक्रम समेत गरेको छ ।
सो क्रममा प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले व्यवसायीहरुले पनि खाद्य स्वास्थ्य सुरक्षातर्फ संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले चोरीका गरगहना, मोबाईल ककलगायतका सामानहरु बिना बिल खरिद नगर्न समेत व्यवसायीहरुलाई आग्रह गरे ।
चोरीका सामान सहज रुपमा बिक्री हुँदा चोरी बढ्ने अधिकारीले बताए । लागू औषध, हिंसा लगायतका अपराधिक क्रियाकलाप र सामाजिक विकृती नियन्त्रण गर्ने सम्बन्धमा व्यवसायीहरु पनि सजग र संवेदनशिल बन्नु पर्ने उनको भनाइ छ । शंकालाग्दो काम भइरहेको थाहा पाए समयमा नै प्रहरीलाई सूचना दिनु समेत उनले व्यवसायीहरुसंग अनुरोध गरेका छन् । व्यवसायीहरुले सुरक्षालाई ध्यानमा राखि आफ्नो पसल अगाडी बाटो समेत समेट्ने गरि सीसी क्यामरा जडान गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल हेडक्वाटर १७ नंं गणका प्रहरी उपरीक्षक मनोज थापाले चाडपर्व लक्षित सुरक्षामा थप जनशक्ती परिचानन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हत्या, हिंसाका घटनाले बेलाबेलामा चर्चामा आउने चितवनमा चाडपर्वको समयमा चोरी, सवारी दुर्घटना, जुवातास, अबैध मदिरा, घरेलुहिंसा लगायतका अपराधिक कार्य बढ्ने गरेका छन् । यसको नियन्त्रणका लागि सबै प्रहरी इकाई र व्यवसायीलाई सर्तक बनाएको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारील जानकारी दिए ।
























