Breaking News
चितवनमा तीजको रौनक बढ्यो, महँगीले गहना र कपडाको व्यापार भने बढ्न सकेन

निरुता विक
चितवन, भदौं ९-
चितवनमा कृष्णाष्टमीदेखि तीजको रौनक बढ्दै गएको छ ।
विभिन्न महिला समूह, आमा समूह, सहकारी, टोलविकास संस्था र कार्यालयहरुले दर खुवाउने र नाँचगान गर्ने प्रचलन बढेसँगै तीजको रौनक बढ्दै गएको हो । पहिले पहिले तीजको अघिल्लो दिनको राति खाने गरिएको दर अहिले झण्डै एक महिनाअघिदेखि खाने क्रम बढ्दै गएको देखिन्छ ।
बिगत दुई वर्षसम्म कोरोना माहामारीका कारण तीज मनाउन नपाएका महिला यस वर्ष खुलेर तीज मनाइरहेका छन् । भरतपुरका ठूला क्याम्पसहरु सप्तगण्डकी, वीरेन्द्र, बालकुमारी र मैयादेवीमा तीज विशेष कार्यक्रमहरु सांगितिक कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । बजारी क्षेत्रमा मात्र नभएर चितवनका ग्रामीण क्षेत्रमा पनि दर खाने र खुवाउने क्रम बढ्दै गएको देखिन्छ ।
रत्ननगर नगरपालिका–१२ नमुना टोलका दिदीबहिनी समूहका महिलाहरुले आज –बिहीबार दर खाने कार्यक्रम गरेका छन् । कार्यक्रममा उनीहरुले एउटै खालको पहिरन लगाएर सहभागी भएका छन् । उनीहरूले रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिए । भरतपुर महानगरपालिका–११ को नवजागृति सामुदायिक वनले २२ टोलविकास संस्थाको सहभागितामा ‘वन संरक्षण’ बारेको वृहत तीज गीत प्रतियोगिता गरिसकेको छ । भरतपुर महानगरपालिका–१८ गुञ्जनगरको कृषि हाट बजार परिसरमा आज बिहीबार वृहत् तीज गीत प्रतियोगिता भइरहेको छ । त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा टोलविकास संस्थास्तरीय तीज गीत प्रतियोगिता आइतबार सञ्चालन हुँदै छ । ठाउँठाउँमा हुने गीत प्रतियोगिता र दर खाने कार्यक्रमले सडकका चोकमा महिलाहरु साडीमा सजिएर हिडेका देखिन्छन् ।
महँगीको मारमा तीज
क्याटरिङ व्यवसायी संघ चितवनको सल्लाहकार प्रभाकर पण्डितले आजभोलि भड्किलो बन्दै गएको बताए । उनले महँगीले गर्दा परिवारमा पनि तीज मनाउन असजिलो भएको जानकारी दिए । उनले क्याटरिङहरु पनि महंगीले फाट्टफुट्ट मात्र बुकिङ भएको बताए ।
नारायणगढको शहिदचोकमा रहेको पाथिभारा सुन पसलका व्यवसायी गंगा रामदाम भन्छन्, ‘तीजको समय भएर होला अहिले व्यपार राम्रो भएको छ, विशेष त ग्राहकहरुले अहिले छड्के तिलरी, माइली तिलरी, चन्दमा, जन्तर, र लेडिज औंठी बढी मात्रामा रुचाएका छन् ।’ उनले विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनकागहनाप्रदर्शन गर्ने चलन रहेको भए पनि अहिले सुनको भाउ बढेका कारण यस वर्ष गरगहनाको व्यापार कम रहेको बताए । उनले व्यापार भइहाले पनि पहिला बाक्लो खालको महंगो गहना लगाउँथे भने अहिले पातलो खालको गहना रुचाउने गरेको नारायणी अनलाइनलाई जानकारी दिए । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल पहिलाको जस्तो नभएको उनले बताए । अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उनको भनाइ छ । यस्तै चितवनका अर्का श्रीकृष्ण रेडिमेड स्टोरको व्यवसायी राजु गुरुङले भने, ‘तीजको समयमा पनि खासै व्यपार भएको छैन, महँगी बढ्दो छ पहिला व्यपार हुन्थो भने अहिलेको समयमा व्यापार नै छैन ।’ उनकाअनुसार व्यापारको क्रममा अन्य कपडा भन्दा महिलाहरुले धेरै मात्रामा साडी मन पराएको बताए ।
हाम्रो सयपत्री कपडा पसल मिलनरोडका व्यवसायी रामबहादुर फुँयालले व्यापार पूरै सुस्ताएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कोरोना महामारी अगाडिको जस्तो तीजको चहलपहल बजारमा छैन । महंगीले र नागरिकको क्रयशक्ति घट्दै गएकोले पनि यस्तो अवस्था आएको हो ।’ उनले बजारमा भाइरल साडीको व्यापार भने निकै फस्टाएको बताए ।

प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ । प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतादिने बाहेक कुनै खर्चिलो र भड्किलो तीजनमनाउन सो अनुरोध गरेको हो । प्रशासनले सामाजिक सुधार ऐन र नियमावली–२०३३ अनुसार चितवनमा सुसंस्कार कायमगर्न राजनीतिकदल, नागरिक समाज, पेसागत संघसंस्था, सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ । ऐन नियमको विपरित हुने गरी कसैले अनावश्यक भड्किलो रुपमातामझाम, तडकभडक र खर्चिलो हुने गरी तीजकार्यक्रम गराएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले केही दिन अघि एक सूचना जारी गरी जनाएको थियो । तर, भड्किलो तीज मानेकै कारणले प्रशासनले अहिलेसम्म कसैलाई कारबाही गरेको घटना भने चितवनमा सार्वजनिक भएको छैन ।

























