Breaking News

पर्यटक कुर्दै चितवनको गोलाघाट,गैँडा र बाघ हेर्न व्यवसायीको निम्तो

Banner

प्रतिमा कुमाल

चितवन, भदौ ८-

पश्चिम चितवनको पर्यटकीय गन्तव्यको रुपमा रहेको गोलाघाट अहिले पर्यटकको प्रतिक्षामा छ । कोरोना महामारी, महंगी र चितवन जोड्ने सडकको अवस्थाले गर्दा पर्यटकको संख्या घटेपछि व्यवसायीहरु पर्यटकको प्रतिक्षामा बस्नु परेको हो ।

भरतपुरको चौबीसकोठीदेखि लगभग ३२ किलोमिट परको यो ठाउँको प्रचारप्रसार भनेजस्तो हुन नसकेकोले पर्यटकको आवागमन कम छ । । कोरोना कहरका कारण झन दैनिक आउने पर्यटकको संख्या घटेर ५० देखि ६० जनामा झरेको स्थानीय रुपामाया कुमालले बताइन् ।

राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन अन्तरगतको टिकट काउन्टरमा काम गर्दै आएकी कुमालले मध्यवर्ती वन घुम्न आउनेको संख्या निक्कै कम भएको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘कोरोना संक्रमण फैलनु भन्दा पहिला धेरै आउथे । दिनमा २ देखि ३०० को हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटक हुन्थ्यो । अहिले ५० देखि ६० जना हुन्छन् । कहिलेकाही यही पनि हुदैनन् ।’ कुमालले यस क्षेत्र घुम्न आउने पर्यटकको लागि प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क रहेको बताइन् ।

पर्यटकीय क्षेत्रको रुपमा बामे सर्दै गर्दा कोरोना भाइरस संक्रमण फैलिएपछि यो क्षेत्र थलापरेको व्यवसायीहरु बताउँछन् । यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पु¥याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतिश कुमाल बताउँछन् । अहिले अफ सिजन भएकाले पनि पर्यटकको संख्या घटेको उनको अनुमान छ । सुनसान देखिएको गोलाघाट पर्यटकीय सिजनसँगै भरिभराउ हुने उनले आशा व्यक्त गरे ।

भरतपुर महानगरपालिका–२६ ज्योतिनगरबाट गोलाघाट घुम्न आएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नको लागि सेवासुविधामा जोड दिनुपर्ने औंल्याइन् । उनी दिव्यगुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीबाट तीजको पिकनिक खान आएकी थिइन् । घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानको लागि उपयुक्त ठाउँ भए पनि सेवा सुविधा कम भएको उनको भनाइ थियो ।

बाघ देख्न पाउँदा पर्यटक खुसी

गोलाघाटमा विषेश गरेर वाईल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटकहरु आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र पर्यटकहरुलाई जिप सफारी गराइन्छ । यो सँगै बाघ, एक सिँगे गैँडा, सूर्याेदय, राप्ती र नारायणी नदीको संगम स्थल, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्र बिन्दु रहेको मेघौली सिराइ ताज सफारीका गाइड बुद्धी चौधरीले बताए । चौधरीले पर्यटकको संख्या थोरै भए पनि सन्तुष्ट भएर फर्किएको दाबी गरे । चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै सहजरुपमा हेर्न पाउदा पर्यटक सन्तुष्ट भएको उनको भनाइ थियो । यसले अबका दिनमा पर्यटक आगमनमा सहयोग पुग्ने चौधरीको विश्वास छ ।

अहिले होटल तथा रिसोर्टमा बस्ने पर्यटकहरु अधिकांश देश भित्रकै रहेको उनले बताए । साथै युक्रेन, क्यानडा, युएस र फिलिपिनका पर्यटकहरु पनि परिवार सहित आइरहेको उनले जानकारी दिए । मेघौली पर्यटन विकास वोर्डका अध्यक्ष हरिश्चन्द्र महतोले पर्यटक भित्रयाउनको लागि प्रयत्नरत रहेको विचार राखे । आन्तरिक पर्यटकको लागि गोलाघाट परिचित स्थान भए पनि अन्तर्राष्ट्रिय स्तरमा अझै पहिचान पाउन नसकेको उनको भनाई थियो ।

संस्कृतिमा धनी गोलाघाट

यस क्षेत्रमा साना ठूला गरेर अहिले २५ वटा होटल तथा रिसोर्टहरु रहेका छन् । वर्षाका कारण राप्ती नदीमाहुने डुङ्गा सफारी रोकिएको छ । वन्यजन्तुसँगै गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारु,तामाङ समुदायको बहुल्यता रहेको छ । अहिले कुमाल र थारु समुदायका सांस्कृतिक टोलीहरुले रात्रीमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । साथै यहाँ ब्राहमण, नेवार, गुरुङ, मगर समुदायका पनि छन् । तर, संख्या कम भएकाले उनीहरु जुट्न सकिरहेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>