इच्छकामना
इच्छाकामना अस्पतालमा डिजिटल एक्स–रे मेसिन आइपुग्यो

चितवन, भदौं ८-
इच्छाकामनामा अस्पताल सञ्चालनको लागि नयाँ डिजिटल एक्स–रे मेसिन ल्याइएको छ ।
गाउँपालिकामा छिट्टै अस्पताल सञ्चालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो ।
अस्पताल सञ्चालनको लागि आवश्यक सामग्री जुटाउने भन्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, चितवन क्षेत्र नं. २ का सांसद कृष्ण भक्त पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र कङदङ्वा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा, लेखापाल पवन खरेललगायतको टोली स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी भेट्न पुगेका थिए । भेटमा मन्त्री खापुङ र निर्देशक मरासिनीले गाउँपालिकामा इच्छाकामना अस्पताल स्थापना गरी सञ्चालन गर्न तत्काल आवश्यक सामग्री पठाउने बचन टोलीलाई दिएका थिए।
सोहि बमोजिम गाउँपालिकालाई मन्त्रालय मार्फत् डिजिटल एक्स–रे मेसिन आइपुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अस्पतालका लागि आवश्यक बेड, मोनिटर, औषधिलगायतका अन्य सामग्रीहरु पनि मन्त्रालयले उपलब्ध गराएकोले आउने क्रममा रहेको छ।
अस्पतालका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु आए पश्चात गाउँपालिकाले भदौ मसान्त भित्रमा चिकित्सकको नियुक्ती गरि आवश्यक प्रक्रिया पु¥याई १५ बेडको इच्छाकामना अस्पताल सञ्चालन गरिनेछ भने अस्पतालका लागि तत्काल दुई जना चिकित्सकको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए ।
सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा सञ्चालन गरिनेछ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा सञ्चालन गरिनेछ । यसैबीच अध्यक्ष गुरुङले चुनावमा गरेको प्रतिबद्धता अनुरुप तत्काल अस्पताल सञ्चालनको लागि काम गरेको बताए । ‘मैले नागरिकको पहिलो आवश्यकतालाई मध्यनजर गरेर चुनावमा जादा गरेको वाचा पूरा गर्न लागिपरेको हु, अब केहि दिनमै नागरिकले आफ्नै इच्छाकामना अस्पतालबाट सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउनेछ’ उनले भने ।

























