चितवन विशेष

अक्षयकोष स्थापनाका लागि प्रदेश सांसद गुरुङद्वारा सहयोग

Banner

चितवन, भदौ ६-

तमु (गुरुङ) सञ्चारकर्मी संघ चितवन शाखाले आफ्नै कार्यालय उद्घाटन गरेको छ । तमु ह्युल छोँज धीँ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवनले भरतपुर–२ तीनखोले गुम्बा परिषरको आफ्नै भवनमा संघका लागि कोठा उपलब्ध गराएको हो ।

कार्यालयको उद्घाटनका क्रममा तमु ह्युल छोँज धीँ केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरुङले जनजाति समुदायले आफैमा चेतना जगाउन पर्नेमा जोड दिनुभयो । लाटोसिधा भएकै कारण राज्यले दिएको सेवा सुविधा समेत लिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्य जातजातिले पाए सरह अधिकार जनजातिले पाउनुपर्छ । र पाएको अधिकार, सेवा सुविधाको पनि पूर्ण प्रयोग गर्न जान्नुपर्छ । यसका लागि आफैमा चेतना जगाउन आवश्यक छ ।’

गुरुङले जनजातिले आफ्नो हक, अधिकार, उत्थानका लागि नेतालाई गुहार्ने बाहेक कुनै काम गर्न नसकेको बताउनुभयो । सोहि अवसरमा बागमती प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सहमहामन्त्री रिना गुरुङले तमु सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्न अक्षयकोष निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्नुभयो । आफ्ना बुबा लालप्रसाद गुरुङको नाममा सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँका पिता लालप्रसाद तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष समेत रहनुभएको छ ।

यस अवसरमा सांसद गुरुङले जातीय संगठन निर्माण हुँदा भविष्यमा समस्या उत्पन्न हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । जातीय उत्थानका लागि यस प्रकारको संगठन उचित भएपनि दूरदृष्टी नभए यसले हानी पु¥याउने उहाँको भनाइ थियो । भविष्यमा आउने समस्यालाई अहिलेदेखिनै समाधान गर्न आफ्नो समुदायले मनाउने चाडपर्वमा अन्य समुदायका मानिसहरुलाई समेत सामेल गराउन गुरुङले आग्रह गर्नुभयो ।

सांसद गुरुङले जनजाति समुदाय शिक्षा, राजनीति र पत्रकारिता क्षेत्रमा कम देखिएको प्रति ध्यानाकर्षण गराउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरले फोनिजको जग बलियो हुँदै गएको बताउनुभयो । सबै जनजाति पत्रकारलाई समेटेर हिँडेको फोनिजभित्र नेवार, थारु, तामाङ, गुरुङको आफ्नै संघ हुनु भनेको फोनिज बलियो हुनु भएको उहाँले बताउनुभयो । साथै उहाँले कुमाल, दराई, राई, बोटे समुदायबाट पत्रकारको संख्या कम भएको बताउनुभयो ।

कार्यक्रममा तमू ह्युल छोँज धी बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङ, फोनिज बागमती प्रदेश उपाध्यक्ष राजेश रुम्बा तामाङ, तमू सञ्चारकर्मी संघ केन्द्रीय समिति सचिव चित्र सोल्टी गुरुङ, सदस्य सीतादेवी गुरुङ, थारु पत्रकार संघ चितवन अध्यक्ष दीपेश चौधरी, तामाङ पत्रकार संघ चितवन अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार राष्ट्रिय दबूः चितवनका अध्यक्ष अनुज जोशी, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलगायतले मन्तव्य राख्नुभएको थियो । तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>