चितवन विशेष

भरतपुर महानगरपालिकाले गर्‍यो प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता

Banner

चितवन, भदौं ६-

भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

महानगरले मातहतका चार वटा महाशाखा, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरेको हो ।

कार्यालयले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीबीच सोमबार महानगर सभाहलमा कार्यसम्पादन करार सम्झौता भएको छ ।

एक वर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक, चौमासिक, वार्षिकरुपमा सम्झौता गर्नेले सम्झौता गराउनेलाई प्रतिवेदन बुझाउनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा प्रमुख, शाखा प्रमुखसँग सम्वन्य गरी योजनाहरुलाई अघि बढाउनुका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्यांकनसँग आबद्ध गरिनेछ ।

करारले सेवालाई थप चुस्तदुरुस्त, कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन, परिमाणमा आधारित उपलब्धी हाँसिल गर्न, समृद्ध र स्मार्ट महानगर निर्माण गर्न यो सम्झौता गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगरपालिकामा काम नभएको होइन, अझै जनताको गुनासो नआउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन पनि दिइएको छ । यस्तै भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय जनतासँग खुसी हुने गरी कार्य सम्पादन महानगरका मातहतका कर्मचारीलाई आग्रह गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले इमान्दार र कर्तव्यनिष्ठ भएर समृद्ध महानगर निर्माणमा जुट्न सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेका छन् । सम्झौतामा उल्लेख भएको जिम्मेवारीलाई अक्षरस पालना गरी मैदानमा उत्रन उनले आग्रह गरे ।
वडा नम्बर १ का सचिव मधुराम दवाडीले करार सम्झौता अनुसार नै कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा सचिव दवाडीले महानगरको मर्म र भावना अनुसार सबैसँग सम्वन्य गर्दै अगाडि बढ्ने उल्लेख गरे ।

यो सम्झौता गरेपछि महानगरको सेवा प्रवाह छिटो छरितो र गुणस्तरीय हुने, विकास निर्माणको कार्यमा थप गतिशिलता हुने, निर्धारित समयमा कार्य सम्पादन हुने र स्थानीय तहहरुको वार्षिकरुपमा हुने स्वमूल्याङ्कनको कार्यमा थप उपलब्धी हासिल हुने विश्वास लिइएको छ ।

यही करार सम्झौता अनुसार कार्यसम्पादन भएका आधारमा कर्मचारीको वृत्ति विकास, दण्ड र पुरस्कृत गर्ने महानगरले जनाएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतसँग महाशाखा, शाखा र वडा सचिवबीच सम्झौता हुने भए पनि महानगर प्रमुख र उपप्रमुखसँग यो पहिलो पटक सम्झौता भएको हो । यो सम्झौताले महानगरको कार्य सम्पादनमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>