खेलकुद
भरतपुर–२६ मा स्व. विनिता पौडेलको स्मृति फुटबल प्रतियोगिता सुरु, जोडा एफसीको विजयी सुरुवात

प्रतिमा कुमाल,
चितवन, भदौ ३–
स्व. विनिता पौडेलको स्मृतिमा भरतपुरमा फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर–२६ ज्योतिनगरस्थित हाट बजार ग्राउण्डमा आज (शुक्रबार) देखि नौं (ए) साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको वडाध्यक्ष ज्ञानप्रसाद खनालले खेलाडीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । न्यू दिव्यज्योति फुटबल क्लबको आयोजनामा भएको यस प्रतियोगिता हरितालिका तीज अर्थात् भदौ १४ गते सम्पन्न हुनेछ । प्रतियोगितामा हेटौंडा, पर्सा, खैरहनी, रामपुर, गीतानगर, जगतपुर, मेघौली, चन्द्रनगर लगायत स्थानका गरि २० वटा टिम सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा जोडा एफसी र हातेमालो फुटबल क्लब बीच प्रतिस्पर्धा भएको छ । सो खेलमा जोडा एफसी विजयी भयो । जोडाले हातेमालो एफसीलाई टाईब्रेकरमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने न्यू दिव्यज्योति फुटबल क्लबका अध्यक्ष जुनानाथ सापकोटाले जानकारी दिए । यस्तै स्ट्राइकर, हाई स्कोरर, बेष्ट किप्पर, बेष्ट डिफेन्डर, म्यान अफ दी म्याच गरी ५ विधामा खेलाडीलाई नगद सहित ट्रफी प्रदान गरिने सापकोटाले जानकारी दिए ।
स्व. विनिता पौडेलको मृत्यु ब्लड क्यान्सरका कारण एक वर्ष पहिला भएको थियो । उनी फुटबल नखेले पनि खेलप्रेमी रहेको उनको अभिभावक बताउँछन् ।
यस प्रतियोगिताको प्रवद्र्धक चितवन जिल्ला फुटबल संघ, प्रायोजक प्रविन न्यौपाने, विकास पौडेल, सन्तोष घिमिरे रहेका छन् । साथै सहप्रायोजकमा सेन्ट्रल कलेज भरतपुर रहेको छ ।

























