चितवन विशेष
चितवन प्याब्सनले राखेको शूल्क वृद्धि प्रस्तावको लोकतान्त्रिक विद्यार्थी संघद्वारा विरोध

चितवन, साउन २४-
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ चितवनले प्याब्सन चितवनले राखेको शुल्क वृद्धि प्रस्तावको विरोध गरेको छ ।
संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै चितवन जिल्ला प्याब्सनले २०७९ असार २७ गतेका दिन विज्ञप्ति जारी गरी बोर्डिङ स्कुलमा ४० प्रतिशत मूल्य बढाउन गरेको प्रस्तावको विरोध गरेको हो । संघले विज्ञप्तिमा मूल्य वृद्धिको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शुल्क वृद्धि ४८ घण्टा भित्र खारेज गर्न जोडदार माग गरेको छ ।
यदि विज्ञप्तिप्रति चितवन प्याब्सन र सम्बन्धित सरोकारवालाले सम्बोधन नगरी अगाडि बढ्न खोजेमा यसबाट सिर्जना हुन जाने जे जस्तै सामाजिक, आर्थिक, राजनीतिक, भौतिक सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयम् प्याब्सन र सम्बन्धित सरोकारवालाहरुलाई नै रहने चेतावनी विज्ञप्तिमा दिइएको छ । संघका इन्चार्ज रामप्रसाद ढकाल र अध्यक्ष प्रशन्न न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देश विकराल बन्दै गएको अवस्थामा अरु क्षेत्रसँगै शिक्षा क्षेत्र पनि प्रभावित भएको कारण सम्पूर्ण चितवन जिल्लाभरका शैक्षिक संस्थाका विद्यार्थीहरुमा पर्न गएको असरहरुलाई मध्यनजर गर्दै माग राखेका छौं ।’ विज्ञप्तिमा २०७२ सालको संविधानमा आधारभूत शिक्षालाई निःशुल्क भनी उल्लेख समेत गरेको अवस्थामा राज्य व्यवस्था सञ्चालकद्वारा नै शिक्षामा निजीकरण व्यापारिकीकरण गर्दै आइरहेको भन्दै राज्यलेनै संविधानमा दिएको निर्देशन विपरित शुल्क वृद्धि कार्य भइरहेको जनाइएको छ ।
























