Breaking News

चितवनका किसानले अझै पाएनन् गत वर्षको सात करोड बढी धानको क्षतिपुर्ती

Banner

प्रतिमा कुमाल

चितवन, असार २१-

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका चितवनका किसानले अझै राहत पाएका छैनन् ।

गत असोजमा आएको बेमौसमी वर्षाको कारण यहाँका सात हजार ५९४ किसानको धानखेतीमा क्षति पुगेको थियो । धानपाक्ने, काट्ने र भित्र्याउने समयमा आएको बाढीले खोला नजिकका खेती बगरमा परिणत गरिदिएको थियो । काटेका धान खोलाले बगाएको थियो । पाकेको धान डुबानमा परि खान निमल्ने भएको थियो ।

असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म बेमौसमी बर्षा भएको थियो । देशको विभिन्न भागमा वर्षा हुँदा चितवनसहित देशका विभिन्न जिल्लाका किसानले क्षति बेहोर्नु परेको हो । सो समयमा क्षति भएका किसानलाई राहत उपलब्ध गराउन नेपाल सरकारको मन्त्रिपरिषद्ले सोही वर्ष मंसिर २ गते राहत उपलब्ध गराउने मापदण्ड तयार पारेको थियो । तर, चालु वर्षको धान रोप्ने समय सकिन लाग्दासम्म किसानले राहत पाउन सकेका छैनन् ।

कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्याङ्कअनुसार बेमौसमी वर्षाका कारण जिल्लाको खैरहनी नगरपालिकामा बढी क्षति पु¥याएको थियो । यहाँका खैरहनी नगरपालिकाका एक हजार ६६० जना कृषकको धानबालीमा क्षति पुगेको थियो । राहत स्वरुप उनीहरुले दुई करोड ३४ लाख ५८ हजार ८६ रुपैयाँ ६६ पैसा पाउनुपर्ने छ । यो रकम जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्धारण गरेको हो । यो क्षति असोजको भए पनि राहत रकम निर्धारणको लागि भने चैत ६ गते जिल्लामा बैठक बसेको थियो ।

रत्ननगर नगरपालिकाका एक हजार ९५२ जना कृषकको धानबालीमा क्षति पुगेका रत्ननगर नगरपालिकाको तथ्यांक छ । राहत स्वरुप उनीहरुले एक करोड १२ लाख ७७ हजार ६३३ रुपैयाँ ४० पैसा पाउनुपर्ने छ । भरतपुर महानगरपालिकाका एक हजार ६५२ जना किसानको धान खेतीमा क्षति भएको थियो । जस अनुसार यहाँका किसानले एक करोड ९९ लाख ७३ हजार ४५५ रुपैयाँ २६ पैसा पाउनुपर्ने छ ।

राप्ती नगरपालिका एक हजार ६७ जना किसानको धानबालीमा क्षति पुगेको थियो । सो अनुसार एक करोड ४२ लाख १३ हजार ६४६ रुपैयाँ ७२ पैसा राहत रकम रहेको छ । माडी नगरपालिकाका ६५४ जना किसानको धानबालीमा क्षति पुगेको थियो । सो क्षतिको निर्धारित राहत रकम पाँच लाख ९१ हजार २७५ रुपैयाँ ४० पैसा छ ।

कालिका नगरपालिकाका ४४२ जना किसानको धानबालीमा क्षति पुगेको थियो । सो अनुसार २२ लाख २१ हजार १३५ रुपैयाँ ४८ पैसा त्यहाँका किसानले पाउनुपर्ने छ । यस्तै इच्छाकामना गाउँपालिकाका १६७ जना कृषकको धानबालीमा क्षति पुगेको थियो । सो क्षतिको निर्धारित राहत रकम १८ लाख ४९ हजार ६११ रुपैयाँ छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा गठन भएको विपद् व्यवस्थापन समितिले कूल राहत रकम सात करोड ८९ लाख ३८ हजार ४३ रुपैयाँ ९२ पैसा निर्धारण गरेको थियो ।  यस क्षतिको विवरण गृहमन्त्रालयमा पेस भए पनि अहिलेसम्म किसानको हातमा परेको छैन । यता प्रमुख जिल्ला अधिकारी तामाङ्ले भने गृहमन्त्रालयबाटनै राहत रकम नआएकाले किसानलाई दिन नसकिएको जीकिर गरे ।

चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० हेक्टर रहेको छ । ३३ हजार ८३६ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ । जसमध्ये २२ हजार ९२७ हेक्टरमा धान खेती गरिन्छ । जसको दुई हजार ६७१ हेक्टरमा गत असोजमा आएको बेमौसमी वर्षा पछिको बाढीले क्षति पु¥याएको थियो ।

बेमौसमी बर्षाका कारण धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसूची १ दफा ३ को उपदफा २ र दफा ११ को खण्ड (ख) अनुसार धानबालीको पूर्ण रुपमा क्षति भएका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत राहत उपलब्ध गराउने उल्लेख छ । यस्तै मध्यम किसानलाई ३० प्रतिशत, ठूला किसानलाई २० प्रतिशत राहत रकम रहेको छ । आंशिकरुपमा क्षति भएमा साना, मध्यम र ठूला किसानलाई २० प्रतिशत उत्पादन लागत उपलब्ध गराइने भनिएको थियो ।

फोटो क्याप्सन: भरतपुरको २७ नम्बर वाडको नारायणी नदी नजिकमा बाढीले डुबाएको धान खेत ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>