Breaking News

भरतपुरमा विद्युतीय गाडीको लागि झण्डै एक दर्जन चार्जिङ स्टेशन सञ्चालनमा, कहाँ-कहाँ उपलब्ध छ ?

Banner

चितवन, असार ११-

चितवनमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएसँगै विभिन्न गाडी बिक्रेता कम्पनी र होटलहरुले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

गाडी बिक्रेतासँगै होटलहरुले विद्युतीय गाडी प्रयोगकर्ताहरुलाई धेरैभन्दा धेरै सहज होस् भनेर भरतपुरका विभिन्न ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । कार बिक्रेता कम्पनीहरुले एसी र डीसी दुबै चार्जिङ स्टेसन निर्माण गरेका छन् ।

चितवनसहित देशभर टाटा मोटर्सले ११६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसकेको जनाएको छ । यी चार्जिङ स्टेसनमध्ये डीसी फास्ट चार्जर १६ र एसी चार्जर १०० भन्दा धेरै छन् । डीसी चार्जिङबाट छिटो चार्ज हुन्छ भने एसीबाट अलि समय लाग्छ । भरतपुरको हाकिमचोकमा टाटा कम्पनीको आधिकारिक बिक्रेता शेखर अटोमोबाइल्सले दुई महिना अघिनै चार्जिङ स्टेशन निर्माण गरेको छ । शेखर अटोमोबाइल्सले २१ अगस्टदेखि १६ वटा विद्युतीय गाडी बेचेको बिक्री प्रमुख रुपक सुवेदीले नारायणी अनलाइनलाई बताए ।
त्यसैगरी हुन्डाई कार बिक्रेता शोरुमहरुले पनि चितवनमा पाँचवटा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । पिनाकल ट्रेडिङ कन्सर्न भरतपुरका बिक्री प्रबन्धक माधव गिरीले पाँच स्थानमा हुन्डाईको चार्जिङ स्टेशनहरु रहेको बताए । उनले भने, ‘अहिलेसम्म चितवनमा हाम्रो कम्पनीका २० वटा विद्युतीय कारहरु बिक्री भएका छन् । ग्राहकलाई सजिलो होस् भनेर हामीले ठाउँठाउँमा चार्जिङ स्टेशन बनाएका हौं । अन्य कम्पनीका गाडीहरुलाई हाम्रोमा चार्जिङ सुविधा छैन ।’ चितवनमा सौराहा, मेघौली र भरतपुरका होटलहरुले पनि विद्युतीय सवारीको लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

भरतपुरको रोयल सेन्चुरी होटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनमा हुन्डाईको कोना र एमजी कारहरु चार्ज गर्न मिल्ने व्यवस्था छ । होटलका प्रबन्धक देवेन्द्र अधिकारीले होटलमा आउने अतिथिहरुलाई सहज होस् भनेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताए ।

होटलहरुले सञ्चालन गरेको चार्जिङ स्टेशनमा घण्टाको १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म लिने गरिएको छ । सौराहाको पार्क सफारी र मेघौलीको बाराही होटलले पनि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

अटोमोबाइल्स एशोसिएसन चितवनमा पूर्वअध्यक्ष कृष्ण काफ्लेले चितवनका सानातिना चार्जिङ स्टेशन सञ्चालनमा आए पनि एकैपटक ५० वटा गाडी चार्ज गर्न मिल्ने स्टेशन भने सञ्चालनमा नआएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बाइपासरोडमा जिल्ला सहकारी संघको चार बिघा जग्गा छ । त्यहाँ पर्याप्तमात्रामा एकैपटक ६० वटा गाडी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेशन बनाउने योजना रहेको बताए ।’ उनले भने, ‘ अटो क्षेत्रको व्यवस्थापनको लागि भरतपुरमा अटोल्याण्ड बनाउने विषयलाई महानगरपालिकाले विशेष प्राथमिकता दिनुपर्छ ।’ भरतपुरमा नाम चलेका कार बिक्रेता कम्पनी र होटलहरुले एकपछि अर्काे चार्जिङ स्टेशन थप्दै लगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>